शिक्षाको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

  ०७६ फागनु २१ गते

इन्सेक,बैतडीको आयोजना तथा शिद्धेश्वर माबि हुक्केडाडाको समन्वयमा फागनु २० गते पाटन नगरपालिका– ९ स्थित शिद्धेश्वर माध्यमिक विद्यालय, हुक्केडाडामा  शिक्षाको अधिकार सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्मपन भएको छ ।

स्थानीय निकायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन परियोजना अन्तर्गत सो कार्यक्रम सञ्चालन गरिएको परियोजनाका जिल्ला सहजकर्ता निशा भट्टले बताउनु भयो ।

कार्यक्रममा बाल अधिकार चेतना समुहले विद्यालयमा बिषयगत शिक्षकको अभाव, बिज्ञान प्रयोगशालाको अभाव, पुस्तकालयको अभाव, शैक्षिक सामाग्री लगायतको  अभाव रहेको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

कार्यक्रममा उपस्थित सरोकारवालाहरूले पनि पाटन नगरपालिकामा रहेका अधिकांस विद्यालयहरूमा शिक्षक दरबन्दीको अभाव रहेको बताएका छन् ।

शिद्देश्वर मावि विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष कृष्णसिह महराले कक्षा १० सम्म पढाइ हुने विद्यालयमा तीन जना शिक्षकको मात्रै दरबन्दी रहेकोले पठनपाठन  प्रभावकारी हुन नसकेको बताउनु भयो ।

नगरपालिकाका केही विद्यालयहरूमा छात्रछात्राका लागि छुट्टै शौचालय समेत नहुँदा समस्या भएको स्थानीय अभिभावक दानसिह महराले बताउनु भयो ।

पहिले कक्षा तीन सम्म पढाइ हुने विद्यालयहरूमा अहिले १० सम्मको पढाइ हुँदा समेत शिक्षक दरबन्दी थप नहुँदा अभिभावकबाट चन्दा सङ्कलन गरेर निजिश्रोतका शिक्षक राख्नु पर्ने बाध्यता रहेको शिद्देश्वर माविका प्रधानाध्यापक बहादुरसिंह महराले बताउनु भयो ।

इन्सेकद्वारा सञ्चालित स्थानीय तहलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजनाले बैतडीको दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवसका अधिकारका क्षेत्रमा विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।

photo20200304baitadi

नरी बडु