शिक्षक, अभिभावक र विद्यार्थीहरुबिच अन्तरक्रिया सम्पन्न

  ०७५ चैत २ गते

मानव अधिकार निगरानी समूह फेदिखोला गाउँपालिकाको आयोजनामा शिक्षक अभिभावक र विद्यार्थीहरुबिच अन्तरक्रिया गरिएको छ ।

स्थानीय समुदायको शिक्षा , स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायहरुलाई जबाफदेही बनाउन पहल कार्यक्रम अन्तर्गत अन्तरक्रिया गवरिएको हो ।

फेदिखोला गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख भगवान ढकालले विद्यालयमा शैक्षिक गुणस्तरीयता बढाउनका लागि कार्यक्रमहरु ल्याइएको बताए ।

उनले अन्तरक्रियाहरुबाट आएका सुझावहरुलाई आगामी वर्षको नीति तथा योजनामा समेट्ने प्रतिबद्धता व्यक्त गरे ।

सिद्धार्थ मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर कार्कीले स्थानीय तह आएपनि सोचे अनुरुपको काम हुन नसकेको गुनासो गरे । उनले भने–‘स्थानीय तह सरकारको रुपमा त आयो तर सोचे अनुरुप काम भएन । अनुगमन कसले गर्ने हो ?’

दामगाडे माविका प्रधानाध्यापक दिवाकर सुवेदीले प्राविधिक शिक्षा अवको आवश्यकता रहेकाले त्यसतर्फ गाउँपालिकाको ध्यान जानुपर्ने बताए ।

मानव अधिकार निगरानी समूहका सदस्य रामजीप्रसाद पौडेलले विद्यार्थीहरुले अध्ययन गरिरहेको पाठ्यक्रमलाई सुधार गर्नुपर्ने धारणा राखे ।

‘नेपालमा सन् २००५ मा प्रतिबन्ध लगाइएको विषादीलाई अहिले पनि विद्यार्थीहरुले प्रयोग गरिने विषादी भनेर पढिरहेका छन् ।’–उनले भने–‘थुप्रै विषयहरुमा त्रुटि रहेको छ । त्यसलाई कसरी सच्याउने भन्ने तर्फ सबैको ध्यान जानुपर्दछ ।’
त्यसैगरी मानव अधिकार निगरानी समूह फेदिखोला गाउँपालिकाले अनुभव आदनप्रदान तथा योजना वैठक सम्पन्न गरेको छ ।

फेदिखोला गाउँपालिकाकी उपाध्यक्ष देवी थापाले गाउँपालिकाका वडाहरुमा महिला अधिकार र कानुनी सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै वडास्तरीय मानव अधिकार निगरानी समूह गठन गरी गाउँपालिकाको कामलाई थप प्रभावकारी बनाउन आग्रह गरिन् । बैठकले सोही अनुसारको कार्ययोजना तय गरेको छ ।

वैठकमा मानव अधिकार निगरानी समूहका सदस्यहरुले मानव अधिकार निगरानी समूहका सदस्यहरुलाई प्रदान गरिएको शिक्षा स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी क्षमता अभिवृद्धि तालिम प्रभावकारी भएको बताएका थिए ।
सुशन घिमिरे