विपद जोखिम न्यूनीकरण ऐन संशोधन गर्ने प्रतिवद्धता

  ०७७ साउन ८ गते

वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक प्रमुख मोहनमाया ढकालले नगरपालिकाले निमार्ण गरेको विपद जोखिम न्यूनीकरण ऐन २०७६ लाई आवश्यकताका आधारमा संशोधन गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले भर्चुअल मार्फत साउन ८ गते आयोजना गरेको वीरेन्द्रनगर नपा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७६ को समिक्षा र सुझाव संकलन विषयक कार्यशालामा प्रमुख ढकालले यस्तो प्रतिवद्धता जनाउनु भएको हो ।

सहभागीहरुले दिएको सुझाव तथा ऐनमा देखिएका कमीकमजोरीहरुलाई नगरसभामा मार्फत आवश्यकताका आधारमा संशोधन गरिने र नगरपालिकामा हुने सबैखाले  विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न वीरेन्द्रनगर नपा तयार रहेको प्रमुख ढकालको भनाई छ ।

वीरेन्द्रनगर नपाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले यस समिक्षा तथा सुझाव संकलन कार्यशालाबाट नगरपालिकाको विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐनलाई मजबुत बनाउन सहयोग पुगेको बताउनुभयो ।

कार्यक्रममा वीरेन्द्रनगर नपाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले ऐनले समेटन नसकेका विषयबस्तुलाई नियमावलीले समेट्ने हुदाँ नियमावली निमार्णका लागि यस समिक्षा फलदायी बनेको उल्लेख गर्नुभयो ।

कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले वीरेन्द्रनगर नपाले निमार्ण गरेको नगर विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनलाई प्रभावकारी तथा सबल बनाउन सबै पक्षको सहकार्यको आवश्यकता रहेको बताउनु भयो ।

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका मानव अधिकार अधिकृत सोमप्रसाद चौधरीले सहजीकरण गरेको कार्यक्रममा अधिवक्ता पिताम्बर ढकालले समिक्षा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा वीरेन्द्रनगर नपाका जनप्रतिनिधी, कानुन व्यवसायी, सञ्चारकर्मी, विपद जोखिमको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संघ संस्था र नागरिक समाजका प्रमुख एवंम प्रतिनिधीहरु गरी २६ जनाको उपस्थिती रहेको थियो ।

Law2

दुर्गा थापा