विकास निर्माण प्रभावकारी हुन नसकेको नागरिक अगुवाको चिन्ता

   ०७६ फागुन २ गते

जिल्लाको विकास निर्माणमा उल्लेखनीय प्रगति हुन नसकेको भन्दै गोरखाका नागरिक अगुवाले चिन्ता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा फागुन १ गते भएको विकासका लागी नागरिक समाज तथा सञ्चार जगत बीच सहकार्य तथा जिल्लाको समसामयिक विषयमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले स्थानीय तहले विकास निर्माणलाई तीब्रता दिन नसकेको गुनासो गरेका थिए ।

जिल्लामा देखिएको समसामयिक विषयमा नागरिक समाजको सहकार्यलार्ई सशक्त बनाउन जरुरी रहेको नागरिक अगुवा एवम प्राध्यापक ऋषि खनालले बताउनुभयो । ‘सुशासन र अधिकारका कुरालाई पारदर्शी र व्यवस्थीत तवरले संचालन गर्न सहकार्य जरुरी छ । भूकम्प पछिको पुनर्निर्माणमा पनि बेथिति देखिएको छ। ,’– उहाँले भन्नुभयो ।

‘ठेक्कापट्टामा सडक ओगट्ने प्रचलन छ, नदी दोहनका कुरा उठेका छन्, सुन्नेले कानमा तेल हालेर बसेका छन् । जमघट र भेलाले नागरिकको आवाज बुलन्द बनाउन सहयोग पुग्छ ।’,– खनालले भन्नुभयो ।

विकास निर्माणका नाममा डोजर संस्कृति मौलाएकोमा नागरिक अगुवाले असन्तुस्टी जनाएका थिए । साझा सवालका संयोजक एवं अधिवक्ता स्थानेश्वर दवाडीले नागरिकको आवाजलाई मुखरित बनाउन संचार जगतले खेलेको भुमिकाको प्रशंसा गर्नुभएको थियो ।

भौतिक पुर्वाधारको विकासमा लापरवाही भएको नागरिक अगुवा सिताराम तिवारीले बताउनुभयो । ‘जताततै वेथिति छ, दुई वर्ष पहिले बन्नुपर्ने पुलको निर्माण अझै सकिएको छैन, कालोपत्रे सकिने बाटोको अहिले पनि दुरअवस्था छ,’– उहाँले भन्नुभयो ।

पार्टी वा कुनै विचार समूहबाट प्रभावित नभई वेथितिको बारेमा नागरिक अगुवा र पत्रकारले निर्भिकताका साथ आफ्ना धारणा राख्नुपर्ने उहाँले बताउनुभयो । ‘हाम्रा आवाज पनि सम्बन्धित निकायले सुनेका छैनन्, तर आवाज उठाउन नछाडौ“,’ तिवारीले भन्नुभयो ।

गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष सिताराम श्रेष्ठले सरकारले गैरसरकारी संस्थाका बारेमा ल्याउन लागेको विधेयक प्रति असन्तुष्टि जनाउनुभयो । ‘नागरिक समाज संगठित नै हुन नसकुन भन्ने तवरले विधेयक आउदैं छ,’ उहाँले भन्नुभयो । नागरिक समाज कमजोर भए सरकार निरकुंश हुने उहाँको बुझाइ छ ।

‘विकासको पुर्वाधार निर्माणमा अघि जान सकेन, स्थानीय तहले प्रगति उन्नती हासिल गर्न सकेनन । ,’विकासका पुर्वाधार केहि बन्दैनन, बने पनि गुणस्तरहिन बन्छन् ।’–श्रेष्ठले भन्नुभयो ।

राज्य संरचनामा परिवर्तन आएपछि नागरिक अगुवा स्थानीय तहमा पुग्न नसकेको शान्ति समाजका जिल्ला संयोजक विश्वनाथ वाग्लेले बताउनुभयो । ‘नागरिक समाज भनेको स्थानीय तहको वाचडग हो, हामी सदरमुकाम केन्द्रित हुदाँपनि स्थानीय तहका बिकृति बाहिर आउँन सकेनन,’ वाग्लेले भन्नुभयो ।

सदरमुकाम क्षेत्रकै सडकको अवस्था नाजुक देखिएको महिला मानव अधिकार रक्षक संजालकी सावित्रि भट्टले बताउनुभयो । ‘सडकमा खाल्डा परेका छन्, कसरी हिँडने, व्यस्त सडकको त अवस्था यस्तो छ’उहाँले भन्नुभयो,‘जनप्रतिनिधि विकासमा लागेनन्, खाल्डो टाल्न आलटाल गर्नेहरु ढुङ्गागिटी उत्खननमा लागेका छन् ।’

विकास निर्माणमा चासो बढाउन खबरदारीको जरुरत रहेको उहाँले बताउनुभयो । ‘कर्मचारी पनि कुनै न कुनै दलमा आस्थावान छन् अनि जनप्रतिनिधिसगँको मिलेमतोका कारण विकास निर्माण भुलेका छन्,’ उहाँले भन्नुभयो ।

ढुङगा गिटी संकलनमा होडबाजी भएकोमा एम्नेष्टि इन्टरनेसनलकी बिमला वाग्लेले चिन्ता जताउनुभएको थियो ।संचार माध्यम बलियो भए नागरिकका आवाज बुलन्द बन्ने पत्रकार महासंघका सचिव नरहरि सापकोटाले बताउनुभयो ।

कार्यक्रममका अधिकाशं सहभागीले आस्था र विचारलाई थाति राखेर नागरिक समाजको भूमिका बलियो वनाउनुपर्नेमा जोड दिएका थिए । मानव अधिकार सञ्जालका संयोजक यदु अधिकारीले बुढीगण्डकी लगायतका ठुला आयोजना समयमा सुरु गर्ने वातावरण बनाउन नागरिक अगुवाले आवाज उठाउनुपर्ने बताउनुभयो । नागरिक समाज र सञ्चार जगत बीच सहकार्यका अवसर र चुनौती विषयमा पत्रकार किरण लोहनीले कार्यपत्र तयार पारेका थिए ।
photo202002gorkha2

photo20200214gorkha1

हरिराम उप्रेती