विकासका लागि नागरिक समाज र सञ्चार जगतबीच हातेमालो आवश्यक

  ०७६ फागुन ७ गते

विकासको लागि नागरिक समाज र सञ्चार जगतबीच हातेमालो आवश्यक भएको सरोकारवालहरुले बताएका छन् । सरकारद्धारा अघि सारिएको विकासका अवधारणाहरू पुरा गर्न सरोकारवाला र सञ्चार जगतसँग हातेमालो आवश्यक हुने बताइएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरको आयोजनामा फागुन ६ गते भएको ‘विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबीचको सहकार्य विषयक अन्तर्क्रिया कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् ।

IMG_7001

कार्यक्रममा सहभागी नागरिक समाजका अगुवा र सञ्चारकर्मीहरूले सरकारले नागरिक समाज र सञ्चार माध्यमलाई कस्ने नीति अगाडि सारेको चर्चा गर्दै यसले तीन तह कै सरकारलाई नोक्सान पुग्ने बताउनु भयो । कार्यक्रममा इन्सेक कार्यसमिति सदस्य शोभाकर बुढाथोकीले नागरिक समाजको सकारात्मक गतिलाई रोके लोकतन्त्र संकटमा पर्ने चर्चा गर्नुभयो । उहाँले भन्नुभयो–“नागरिक समाज जहाँ रहदैन, त्यहाँ लोकतन्त्र रहदैन, त्यसैले लोकतन्त्रलाई संस्थागत गर्न समाजको धारणा बोकेर हिड्ने नागरिक समाजलाई चलायमान गराउनुपर्छ ।”

राजनीतिक निकायको जवाफदेहिता सन्तोषजनक नरहेको औल्याउदै उहाँले नागरिक समाज, गैरसरकारी संस्थालगायतलाई सरकारले राज्यको सहयोगी हो भन्ने बुझ्नु पर्नेमा जोड दिनुभयो । राज्यलाई जवाफदेहि बनाउने काम नागरिक समाज र सञ्चार माध्यमको रहेको उहाँले बताउनु भयो ।

कार्यक्रममा इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले संविधानले परिकल्पना गरेको विकास र समृद्धिका लागि सरकारले नागरिक समाज र सञ्चार माध्यमसँग हातेमालो गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । संविधानले दिएको अधिकारलाई कार्यान्वयनमा आउनै नदिई सरकारले गैरसरकारी संस्था र मिडियालाई नियन्त्रण गर्ने नीति लिएको बताउदै उहाँले पार्टी खोल्न भन्दा संस्था खोल्न र नविकरण गर्न निकै कठिन रहेको भनाई राख्नुभयो ।

उहाँले देशको परिवर्तनदेखि महाभूकम्पसम्ममा पनि नागरिक समाजले सरकारलाई गरेको सहयोगलाई भुल्न नहुने बताउदै कानुनी शासन स्थापना गर्न र पारदर्शिता कायम गर्न पहरेदारीको भूमिका निर्वाह गर्दै आएको बताउनु भयो । “तीन तहका सरकारका फरक नीतिका कारण समस्या झेल्नु परेको छ, नागरिक समाज र सञ्चार माध्याम सरकारका प्रतिस्पर्धी होईनन्, सहयोगी हुन्, हामी सरकारसँग सहकार्य गरेर जान चाहन्छौ, सरकार कस्न चाहन्छ”संयोजक गौतमले भन्नुभयो ।

कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाईं) ले आमनागरिक र सरकारबीच पुलको भूमिका निर्वाह गर्नुपर्ने नागरिक समाजलाई सरकारले कुण्ठित पार्न खोजेको भनाई राख्नुभयो । संविधानको व्यवस्थालाई काट्ने गरि सरकारले ऐन ल्याउने, सवैै संस्थालाई एउटै डालोमा हालेर हेर्ने र व्यबहार गर्ने र कतिपय स्थानीय सरकारले गैरसरकारी संस्थालाई नगरपालिकामा निषेध गर्ने जस्ता प्रवृत्तिले नागरिकको हक कुण्ठित पार्ने प्रयास भईरहेको उहाँले बताउनु भयो ।

देशमा कति सङ्घसंस्था छन्, कसले कस्तो काम गरिरहेका छन्, कति नविकरण छन् भन्ने सहि तथ्याङ्क राख्न नसक्ने सरकारले अहिले संस्था दर्ता एवम् नविकरणको अधिकारको सवालमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयबीच द्वन्द्व चल्नु हाँस्यास्पद भएको टिप्पणी गर्नुभयो । उहाँले नागरिक समाज नियन्त्रणमुखी कानुन ल्याउन खोज्नु गलत भएको बताउनु भयो ।  उहाँले विकाससँग जोडिएको एजेण्डालाई पुरा गर्न सवैै तहका सरकारसँग नागरिक समाज तयार रहेको भनाई राख्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा नेपाल बार एशोसिएसनका भक्तपुरका अध्यक्ष रबिन्द्र प्रधानले पछिल्ला समयमा फास्ट ट्रयाकदेखि गुठि विधेयकसम्म जसरी नागरिक समाजको भूमिका देखिएको छ, त्यसैगरि शुसासन र पारदर्शितामा नागरिक समाज र सञ्चार माध्यमको भूमिका अत्यावश्यक रहेको औल्याउनु भयो । अहिले वडाअध्यक्षदेखि सांसद समेतको आफ्नै टिपर,डोजर रहेकाले टिपर र डोजर चलाउने मामिलामा मात्रै विकास भएको र आमनागरिकले महसुस गर्नेगरि विकास हुन नसकेको उहाँले बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले सरकारले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको नारालाई सफल पार्ने हो भने सरकारले नागरिक समाज र सञ्चार माध्यमसँग हातेमालो गरेर जानुको विकल्प नरहेको उहाँले बताउनु भयो ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य श्रीकृष्ण केसीले सरकारको कमिकमजोरीको अनुगमन र खबरदारी आवश्यक रहेको औल्याउदै सरकार स्वेच्छारी ढङ्गले भन्दा पनि सामाजिक, आर्थिक र साँस्कृतिक विकासको गतिमा अगाडि बढ्नु पर्ने औल्याउनुभयो । कार्यक्रममा हनुमन्ते सफाई अभियानका अभियन्ता रुद्र पौडेलले जनआन्दोलनको उपलब्धि जनताले अझै पाउन नसकेको टिप्पणी गर्नुभयो । नागरिक समाज विभिन्न राजनीतिक दलको ट्याग लगाएर अगाडि बढेको र सरकार मनपरी ढङ्गले अगाडि बढ्दा खबरदारी गर्ने निकाय चुक्दैछ कि भन्ने आभाष हुन थालेको उहाँले बताउनु भयो ।

रमेश गिरी