विकासका लागि नागरिक समाज र सञ्चार जगतको भूमिका महत्वपूर्ण

  ०७६ माघ ७ गते

विकासका लागि नागरिक समाज र सञ्चार जगतको भूमिका विषयक अन्तरक्रियामा माघ ६ जिल्ला सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ, पूर्व केन्द्रीय सदस्य चिरञ्जिवी मास्केले कार्यपत्र प्रस्तुत गर्दै विकासका लागि नागरिक समाज र सञ्चार जगतको भूमिका महत्वपूर्ण रहेको औँल्याउनु भयो ।

कार्यपत्रमा तीन तहको सरकार बने तापनि भौतिक विकासलाई मात्र विकास मान्ने परिपाटी र अधिकांश बजेट भौतिक विकासमा विनियोजन गरिनुले सरकारका सबै तहको विकास प्रतिको बुझाई कमजोर रहेको उल्लेख गर्नु भएको छ । मास्केले विकासका लागि सामाजिक, सांस्कृतिक, आर्थिक, चेतना स्तर बृद्धि गर्ने कार्यमा रकम कम विनियोजित हुनुमा नागरिक समाज र सञ्चार जगत पनि जिम्मेवार रहेको कार्यपत्रमा समेट्नु भएको छ ।

fhi-2

साथै कार्यक्रमका सहभागीहरूले रकम विनियोजनमा नागरिकको सहभागिता नगराईनु, पारदर्शितामा ध्यान नदिनु, सेवाप्रवाह चुस्तदुरुस्त नहुनु, जनमुखि कानुन निर्माणमा ध्यान नजानु र यस्ता विषयमा नागरिक समाज र सञ्चारजगत मौन बस्ने प्रबृतिलाई तोड्नु पर्नेमा जोड दिएका छन् ।

जनसरोकारका विषयमा पत्रकारका भूमिका गौण रहेको भन्दै आगामी दिनमा नागरिक समाज र सञ्चारकर्मी नियमित बैठक बसी विकासका गतिविधि दुरुस्त र जनचाहना अनुरुप गर्न सरोकारवाला पक्षलाई खवरदारी गर्न सहकार्यको आवश्यकता रहेको गैसस महासंघ दोलखाका उपाध्यक्ष राजु थापाले बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ, दोलखा शाखाका अध्यक्ष जीवन लामा, नेपाल रेडक्रस सोसाईटी दोलखा शाखाका सभापति गोकर्ण पोखरेल, सामुदायिक वन उपभोक्ता महासंघ, दोलखा शाखाका अध्यक्ष जगन्नथ बस्नेत, मानव अधिकार एलाइन्सका दोलखाका संयोजक कुमार लगुन, नेपाल बार एसोसिएसन दोलखा शाखाका प्रोणप्रताप केसी लगायत जिल्लाका सञ्चारकर्मी र नागरिक समाजका संस्थाका प्रमुख एवम् प्रतिनिधिको सहभागिता रहेको थियो ।

उद्धव पोखरेल