वार्षिक पूर्व समीक्षा सम्पन्न

  ०७३ मङ्सिर २८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले प्रकाशन गर्दै आएको मानव अधिकार वर्षपुस्तकको नयाँ अङ्क २०१७ का लागि सुनसरीमा सङ्कलित घटनाबारे मङ्सिर २८ गते सदरमुकाम इनरुवामा प्रकाशन पूर्व समीक्षा सम्पन्न गरेको छ ।

photo20161213sunsari

पूर्व समीक्षा कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनले बालिका बलात्कारका घटनामा बृद्धि भएको देखाएको छ । प्रतिवेदन अनुसार सन् २०१६ जनवरीदेखि डिसेम्बरसम्ममा सुनसरीमा २३ जना बालिका बलात्कृत भए । आठ जनालाई यौन दुर्व्यवहार गरिएको इन्सेक जिल्ला प्रतिनिधि शेखर ढकालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । गतवर्ष इन्सेकले प्रकाशन गरेको प्रतिवेदनमा बालिका बलात्कारको सङ्ख्या १८ थियो ।

जनवरीदेखि डिसेम्बरको यो अवधिमा सुनसरीमा १३ जना महिला बलात्कृत र ८ जनालाई बलात्कारको प्रयास भएको इन्सेक प्रतिनिधि ढकालले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।  प्रतिवेदनमा हत्याका चार ओटा, कुटपिटको एउटा गरी बाल अधिकार उल्लङ्घनका ३२ ओटा, महिला अधिकार हनन्का २१ ओटा र मानव वेचविखन, ओसारपोसारका २ ओटा घटना गरी जम्मा ६० वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना समेटिएको छ । त्यसमा राज्य पक्षबाट सुनसरीमा एउटामात्र मानव अधिकार उल्लङ्घनको घटना अभिलेख गरिएको ढकालले बताए ।

कार्यक्रममा बलात्कारका घटना बढेको प्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गरे । उनीहरूले बलात्कारका घटना न्यूनीकरणका लागि सम्बन्धित निकायको ध्यन जानुपर्नेमा जोड दिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका इन्स्पेक्टर नवराज न्यौपानेले राज्य मानव अधिकारप्रति सचेत भएकाले राज्यको तर्फबाट अधिकार हनन्का घटना कम भएको बताए । उनले मानव अधिकारको संरक्षण र सम्बर्द्धनका लागि नेपाल प्रहरीलाई सुझाव दिनसमेत आग्रह गरे ।

इन्सेकले सङ्कलन गरेका घटनामा बलात्कार र महिला अधिकारका मात्र बढी समेटिएको, शिक्षा, स्वास्थ्य, खाद्य र रोजगारीका अधिकारका घटनासमेत समेटन वर्णमाला दैनिकका उपसम्पादक राजेन्द्र पोखरेलले सुझाव दिए ।

कार्यक्रममा जिल्ला शिक्षा कार्यालय सुनसरीका अधिकृत रुद्र राई, माइती नेपालकी सुनिता कार्की, नेकपा एमालेका प्रतिनिधि प्रदिप काफ्ले, स्थानीय शान्ति समिति सुनसरीका संयोजक सुर्यनारायण यादव, नेपाल पत्रकार महासङ्घ सुनसरीका सह-सचिव प्रमोद यादवलगायतका वक्ताहरूले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना न्यूनीकरणमा सबैले आआफ्नो ठाउँबाट भुमिका खेल्नुपर्ने बताएका थिए ।

शेखर ढकाल