वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

  ०७३ मङ्सिर २४ गते

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित घटनाहरू प्रकाशन पूर्व समीक्षा तथा मानव अधिकारको अवस्थासम्बन्धी अन्तरक्रिया कार्यक्रम मङ्सिर २४ गते फिदिममा सम्पन्न भएको  छ ।

हुकोडेक नेपालको सहकार्यमा इन्सेक पाँचथरद्वारा आयोजना गरिएको कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मङ्गल बेघाले प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा महिला अधिकारका १७, बाल अधिकारका १३ र नागरिक तथा राजनीतिक अधिकारका चार गरी जिल्लामा ३४ ओटा घटनाहरू अभिलेखिकरण गरिएका छन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रिपेन्द्रकुमार सिंहले जिल्लामा महिला तथा बालबालिकाहरू बलात्कार जस्ता जघन्य अपराधबाट पीडित हुने गरेको बताए ।

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा पाँचथरका अध्यक्ष लवदेव ढुङ्गानाले मानव अधिकारलाई विकास, स्वस्च्छ वातावरणमा बाँच्न पाउने अधिकार, सेवा प्रदायक संस्थाहरूले प्रवाह गर्ने सेवाको गुणस्तरीयता लगायतका विषयहरू समेत उठान गर्नु पर्ने बताए ।

सङ्घीय लिम्बुवान पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष सुरेन्द्रप्रकाश जवेगुले घरेलु हिंसाका घटनामा महिला मात्र पीडित हुने प्रवृतिमा परिवर्तन आएको बताए । फोरम लोकतान्त्रिका सदस्य नरेन्द्र दुलालले इन्सेकको प्रतिवेदन सत्य तथ्यमा आधारित रहेको बताए ।

यसैगरी, नेकपा एमालेका सदस्य नरबहादुर गुरूङले प्रशासनको पहुँचमा नपुगेका घटनाहरूलाई समेत अभिलेखिकरण गर्नु पर्ने बताए । नेपाली काङ्ग्रेसका सदस्य मधु जवेगुले इन्सेकको अभिलेखिकरण तथ्यपरक रहेको बताउँदै आर्थिक सामाजिक सवालहरूलाई पनि स्थान दिन सुझाव दिए ।

मङ्गल बेघा