वडा कार्यालयले प्रवाह गरेको सेवाको गुणस्तरीयता बारे सार्वजनिक सुनुवाइ

  ०७६ असार ३ गते

वडा कार्यालयले चालु आर्थिक वर्षमा प्रवाह गरेको सेवाको गुणस्तरीयता विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम असार २ गते रामेछाप नगरपालिका–१ गोठगाउँमा सम्पन्न गरिएको छ ।

वडा कार्यालयको आयोजना तथा अनौपाचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार सचेतना तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाको सहजिकरणमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा सचिव दुर्गाबहादुर कठायतले यस आर्थिक वर्षमा वडामा कुल ९० लाख रुपियाँका योजनाहरू सञ्चालनमा रहेको जानकारी दिए । ती मध्ये अधिकाँश योजनाहरू सम्पन्न भइसकेको उनले बताए ।

त्यसैगरी सामाजिक सुरक्षा अन्तर्गत पहिलो किस्ता १८ लाख १२ हजार ८ सय रुपियाँ निकासा भएकोमा ३६ हजार रुपियाँ फिर्ता गएको तथा दोस्रो किस्ताको १७ लाख ८२ हजार निकासा भएकोमा ४२ हजार रुपियाँ फिर्ता गएको उनले बताए । यसैगरी २ सय ७२ ओटा सिफारिश र १ सय ६३ ओटा पञ्जिकरणको काम भएको उनले बताए ।

पुनर्निर्माण तर्फ ६ सय ३० लाभग्राही मध्ये सबैले पहिलो किस्ता र ६ सय १९ घरले दोस्रो किस्ता रकम लिएको उनले जानकारी दिए ।

त्यस्तै ४ सय ८० परिवारले अन्तिम किस्ता रकम पनि लिइसकेको भन्दै गुनासो भर्ने सहित ७  सय २९ घर भूकम्प प्रभावित रहेको उनले जानकारी दिए ।

कार्यक्रममा सहभागीले वडा कार्यालयबाट प्रभावकारी अनुगमन हुन नसकेको, पशु र कृषिका कार्यक्रम प्रभावकारी नभएको, शिक्षाको गुणस्तर कमजोर भएको, भुकम्प पीडितको अन्तिम किस्ता रकम भुक्तानीमा ढिलाई भएको, स्थान विवादका कारण स्वास्थ्य चौकीको भवन निर्माण हुन नसकेको गुनासो गरेका थिए ।

सर्वाजनिक सुनुवाइमा उठेका गुनासोलाई सम्बोधन गर्ने गरी वडा कार्यालय अघि बढ्ने वडाअध्यक्ष नरबहादुर थापाले प्रतिबद्धता व्यक्त गरे ।

सार्वजनिक सुनुवाइमा उठेका विषयलाई सम्बोधन गर्ने गरी कार्यक्रममा ६ बुँदे प्रतिबद्धता जारि गरिएको छ ।

कार्यक्रममा पुनर्निर्माण, स्वास्थ्य, पशु सेवा, शिक्षा लगायतका विषयगत क्षेत्रका जबाफदेही वक्ताहरूले नागरिकका प्रश्नको जवाफ दिएका थिए ।

photo20190618ramechhap (1)

photo20190618ramechhap (2)

photo20190618ramechhap (3)

नवराज पथिक