लोकतन्त्रमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुनेः सरोकारवाला

  ०७७ असार ३१ गते

लोकतन्त्रको विकासमा नागरिक समाज र सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने सरोकारवालाहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ०७७ असार ३१ गते विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबीच सहकार्य विषयक छलफल कार्यक्रममा सहभागीहरूले उक्त धारणा राखेका हुन् ।

कार्यक्रममा पत्रकार तथा बुद्धिजिवी सङ्गठन रसुवाका अध्यक्ष जयराम आचार्यले भौतिक पूर्वाधार निर्माण मात्र विकासको बुझाई रहेकोले बृहत्तर ध्यानदिन आवश्यक रहेको बताउनुभयो । सफ्टवेयर पनि विकास हो भन्ने बुझाई हुनुपर्ने बताउँदै उहाँले सञ्चार जगत र नागरिक समाज पनि विकासका लागि सरकारका सहयोगी भएको बताउनु भयो ।Rasuwaphoto120200716

सरकारले विकास गर्छ तर, विकाका काम बृहत्तर दृष्टिकोणबाट भए नभएको ध्यान दिने काम गर्नुपर्ने सञ्चार जगत र नागरिक समाजको भएको धारणा आचार्यको थियो ।

स्थानीय तहको अधिकांश नीति तथा कार्यक्रमहरू वितरणमुखी भएको, बजेट खर्च गर्न नसकेको र राजनीतिक दलमा आवद्ध ठेकेदारी विकासले समस्याले ल्याएकोले नागरिक समाज र सञ्चार क्षेत्रले खबरदारी हुनुपर्ने पनि उहाँले बताउनु भयो ।

नागरिक सञ्जालका झंकनाथ न्यौपानेले कालिकास्थान क्षेत्रमा सडक कालेपत्रे गरेको दुई दिनमै भत्केको विषय नागरिक समाज तथा पत्रकारहरूले उठान गर्न नसकेको बताउनुभयो ।

न्यौपानेले असारको अन्तमा ठेक्का लिएर हतारमा काम सक्नले दिगो विकास अझै नभएकोले नागरिक समाज र सञ्चार क्षेत्रको सङ्गठित आवाजलले खबरदारी गर्नुपर्ने बताउनुभयो । उहाँले वन्यजन्तुले सिर्जना गरेको समस्या समाधान राहत वितरणबाट नहुने र समस्याको समाधान तर्फ लाग्नुपर्ने बताउँनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रसुवाका उपाध्यक्ष प्रेमप्रसाद पौडेलले पनि विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले असार मसान्तमा विकासका योजना काम गर्ने सम्पन्न गर्ने प्रबृत्ति रोक्न सञ्चार माध्यम र नागरिक समाजको खबरदारी आवश्यक रहेकोमा जोड्दिनुभयो । पौडेलले यस्ता कार्यक्रममा जनजीविकाको सवाल पनि उठान हुन आवश्यक रहेको Rasuwaphoto220200716बताउनु भयो ।

रेडियो लाङटाङकी पत्रकार संगीता लामाले कोभिड १९ र लकडाउन भौतिक रूपमा छलफल भेला हुन नसक्ने अवस्थामा गाउँमा इन्टरनेटको पहुँच अझै बिस्तार नभएकोले प्रविधि मैत्री भर्चुअल मिटिङ हुन नसकेको बताउनुभयो । तसर्थ सामाजिक दुरी कायम गरेर प्रत्यक्ष भेटेर नै हुने बैठक प्रभावकारी भएको उहाँको धारणा थियो । उहाँले कोभिड १९ को महामारीका कारण भएको लकडाउनले हिड्डुल गर्न नपाउँदा समाचार सम्प्रेषणमा समस्या परेको बताउनुभयो । उहाँले अझै असार विकास नरोकिएकोले दिगो विकास कसरी गर्न भन्ने विषय महत्वपूर्ण भएको बताउनुभयो ।

लाङटाङ राष्ट्रिय निकुन्जका रेन्जर अमृता पुडासैनीले लकडाउनकै समयमा सरुवा भएर आएपछि आफूले वन्यजन्तुले खेतीबाली नष्ट गरेको भनेर आएको ४० परिवारको निवेदनलाई राहतको लागि सिफारिस गरिसकेको बताउनुभयो । बाँदरले गरेको क्षतिको राहत वितरण गर्न निकुञ्जको नीतिले नमिल्ने भएकोले स्थानीय तहमा पनि समन्वय गर्न आवश्यक रहेको रेन्जर पुडासैनीको सुझाव थियो । मानिसको लागि पनि आवश्यक पर्ने हुनाले प्रकृतिको संरक्षण गर्न पनि आवश्यक रहेको उहाँले बताउनुभयो ।

उहाँले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ (दोस्रो संशोधन २०७४) अनुसार राहत वितरण गर्ने काम भइरहेको बताउनुभयो । ‘वन्यजन्तुले क्षति गरेअनुसार क्षतिपूर्ति दिन सकिँदैन,’ उहाँले भन्नुभयो । ‘सहयोगस्वरूप राहत दिएका हौं ।’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको राहत अक्षयकोषको व्याजबाट राहत वितरण गरिएको निकुञ्जले जानकारी दिएको छ ।

राष्ट्रिय महिला अधिकार मञ्चकी मिठु तामाङले नागरिक समाज र सञ्चार जगत एकबद्ध भएर बलियो आवाज बुलन्द गर्न आवश्यक भएको र गाउँगाउँमा खेती योग्य जग्गा बाँझो राख्न नपाउने नीति भएको तर लगाएको खेती बन्यजन्तुले नष्ट गर्नाले समस्या भएको बताउनुभयो ।

लालीगुरास सामुदायिक विकास केन्द्रकी उपाध्यक्ष कुमारी तामाङले वन्य जन्तुले गर्ने क्षतीको राहत पाउने कुराको गाउँगाउँमा सूचना नभएको र अन्नबाली उत्पादन गरेर खाने किसान समस्यामा परेको बताउनुभयो । मृग, बदेल, दुम्सी, बाँदरले गर्दा उत्तरगया गाउँपालिमा किसान हैरानीमा परेको उहाँले बताउनुभयो ।

धैबुङ्ग कालिका साना किसान सहकारी संस्थाका प्रबन्धक पूर्णप्रसाद न्यौपानेले गाउँगाउँमा बाँदरले खेतीबाली नष्ट गरिदिनाले समस्या आएको बताउनुभयो । सरकारले जग्गा जमिन बाँझो राख्न नपाउने नियम लगाउने तर बाँदरलगायत वन्यजन्तुले हैरानी दिएकोले समस्या आएको बताउनुभयो ।

गैरसरकारी संस्था महासङ्घ रसुवाका उपाध्यक्ष शिला मगरले गैर सरकारी क्षेत्रको काम उपलब्धि मुलक बनाउनुपर्ने बताउनुभयो ।

हेमनाथ खतिवडा