लैङ्गिक हिंसा मुक्त समाज भएमा मात्र सभ्य समाज निर्माण हुन्छ : सांसद सिग्देल

  ०७७ मङ्सिर १९ गते

तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सांसद केदार सिग्देलले लैङ्गिक हिंसा मुक्त समाज भएमा मात्र सभ्य समाज निर्माण हुने बताउनुभएको छ ।

लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानको सन्दर्भमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा मंसिर १८ गते दमौलीमा आयोजना गरिएको जातिय विभेद र कोभिड१९ को कारण महिलामा परेको असरविषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सिग्देलले जबसम्म लैङ्गिक हिंसा मुक्त समाज बन्दैन,  तबसम्म सभ्य समाजपनि बन्न नसक्ने हुँदा हिंसाका विषयलाई सम्बन्धित ठाउँमा उठाउनुपर्ने बताउनुभयो ।

कानुन निर्माण गर्ने तहमा पुगेको हुँदा आफूले हिंसा विरोधी कानुन निर्माणमा सरकारलाई सुझाव दिने सांसद सिग्देलको भनाइ थियो ।

लैङ्गिक हिंसाका मुद्दाहरू शहर बजारमा भन्दा पनि गाउँमा बढि हुने भएकोले यस्ता जनचेतनाका कार्यक्रम गाउँमा गरिनुपर्नेमा सांसद सिग्देलले जोड दिनुभयो ।

पछिल्लो समय सरकारले बलात्कारको घटनामा मिलापत्र गराउनेलाई पनि कडा सजायको व्यवस्था गरेको भन्दै सांसद सिग्देलले त्यसलाई अब संसदले अपनत्व ग्रहण गर्ने बताउनुभयो ।

अझै घरेलु हिंसाका केही मुद्दाहरूमा पनि त्यस्तै कडा खालको कानुनको आवश्यकता छ भन्दै उहाँले त्यसलाई पनि संसदले सम्बोधन गर्ने बताउनुभयो ।

हिंसा गर्नेहरूलाई कुनै राजनीतिक दल र आस्थाको आधारमा हेर्न नहुनेमा सांसद सिग्देलले जोड दिनुभयो ।

सो कार्यक्रममा स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबावु अधिकारीले कोभिड१९ को समयमा सबैभन्दा धेरै पीडित महिलानै भएको बताउनुभयो ।

चाहे स्वास्थ्य परीक्षणको क्रममा होस् चाहे घरायसी काममा नै महिला नै पीडित भएको उहाँको भनाइ थियो ।

सुत्केरी महिला, गर्भवती र अन्यले समयमा स्वास्थ्य परीक्षण गर्न पनि असहज अवस्था सिर्जना भएको भन्दै उहाँले स्वास्थ्य कार्यालयको तर्फबाट आफूले सबै स्वास्थ्य संस्थामा निर्देशन पठाए कोभिड १९ को बाहानामा कुनै पनि नागरिकलाई उपचार पाउनबाट वञ्चित गर्न नहुने बताउनुभयो ।

तर पनि कतिपय अवस्थामा महिला, अशक्त, जेष्ठ नागरिक र बालबालिकाहरूले सहजरूपमा उपचार सेवा पाउन नसकेको गुनासो आएको अधिकारीको भनाइ थियो ।

व्यास नगरपालिकाका महिला तथा बालबालिका शाखाकी प्रमुख राधा आचार्यले सरकारी कार्यालयले सेवा प्रवाह गर्दा लैङ्गिक मैत्री हुनुपर्छ भन्नेमा आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो ।

व्यास नगरपालिकाले पनि लैङ्गिक मैत्री व्यवहार गर्दै आएको बताउनुभयो । स्थानीय तहले पनि कोभिड१९ को समयमा सबै नागरिकले सहज रूपमा सेवा पाउन भन्ने हिसाबले काम गरिरहेका उहाँको भनाइ थियो ।

तर कोभिड१९ या अन्य कुनै महामारीको समयमा सबैभन्दा दुःख पाउने र पीडित हुने क्षेत्र भनेकै महिला र बालबालिका हुने आचार्यको भनाइ थियो ।

नेपाल वार एशोसिएसन तनहुँका पुर्व अध्यक्ष अधिवक्ता शिवदत्त ढकालले जातिय विभेदको बारेमा संविधानमा भएको प्रस्तावको व्यवस्था, मौलिक हक अन्तरगत शोषणविरूद्धको हक, दलितको हकको बारेमा सबै जानकार हुनुपर्ने बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता महासङ्घ तनहुँका जिल्ला सचिवालय सदस्य अनिल पाण्डेले वैदेशिक रोजगारीबाट घरका लोग्ने मान्छे फर्किएपनि त्यसको दिर्घकालिन रूपमा परिवारको आर्थिक बोझ र समस्या धेरै महिलालाई नै परेको बताउनुभयो ।

सङ्क्रमित पुरूषहरू होम आइसोलेशनमा बसेको समयमा ती पुरूषहरूले प्रयोग गरेको भाँडा, लत्ता कपडा आदि सफा गर्ने जिम्मेवारी महिलालाई नै परेको र यसले गर्दा घर भित्रै बसेकी महिलापनि सङ्क्रमणको जोखिममा परको बताउनुभयो ।

मानव अधिकार निगरानी समूहका जिल्ला संयोजक रामलिला सुवर्णकारको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा व्यास नगर कमिटिका अध्यक्ष श्रीराम कार्की, संयुक्त दलित उत्थान मन्चका सचिव विनोद बिक, क्रियाशिल पत्रकार महिला तनहुँकी अध्यक्ष अन्जना तिमिल्सेना, दलित महिला कल्पना परियार लगायतले पनि जातिय विभेद र कोभिडको कारण सबैभन्दा बढि महिलानै पीडित भएको बताउनुभयो ।

कार्यक्रममा महिला सशक्तिकरण सञ्चार समाज तनहुँकी अध्यक्ष प्रकृति खनाल न्यौपानेले कोभिड१९ को कारण महिलामा परेको पीडा र क्षति तथा हिंसाको प्रकृतिको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

उहाँको कार्यपत्रमा जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत, स्वास्थ्य कार्यालय तनहुँ दमौली अस्पताल एकद्वार सङ्कट व्यवस्थापन केन्द्र र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कोभिड१९ को समयमा सङ्कलन गरेको तथ्याङ्कहरू प्रस्तुत गरिएको थियो ।

कार्यपत्रका उल्लेखित इन्सेकको तथ्याङ्क अनुसार कोभिड१९ को कारण भएको लकडाउनपछि तनहुँ जिल्लामा १५ ओटा बलात्कारका घटना भएको उल्लेख गरिएको छ ।

कार्यपत्रमाथि अधिवक्ता शिवदत्त ढकालले टिप्पणी सहितको सुझाव प्रस्तुत गर्नुभएको थियो भने ३१ जना विभिन्न सरोकारवालहरूको सहभागिता रहेको थियो ।

photo20201204tanahun1 photo20201204tanahun2 photo20201204tanahun3 photo20201204tanahun4

 

प्रकाशचन्द्र भट्टराई