लाभग्राहीको प्रश्न-ऐलानीमा घर भएका पीडितले के गर्ने?

  ०७४ फागुन २९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जिल्लास्तरीय मानव अधिकार सञ्जाल सिन्धुलीको आयोजनामा फागुन २८ गते मरिण गाउँपालिकाको कपिलाकोटमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा लाभग्राही र जनप्रतिनिधि दुवै पक्षबाट एउटै खालका समस्या सार्वजनिक भए-'ऐलानीका भूकम्प पीडितले के गर्ने ?'

Photo20180314Sindhuli

सार्वनिक सुनुवाइ कार्यक्रममा भूकम्पपीडितले मरिण क्षेत्रमा भूकम्पका धेरै समस्या रहेको औँल्याए । कार्यक्रममा मरिण गाउँपालिका-६ का हरिबहादुर कार्कीले काठको घरको नक्सा सरकारले नल्याएको र मरिण क्षेत्रमा अधिकाँश काठको घर भएका कारण समस्या भएको भन्दै काठको घरको स्थानीय रूपमा हुने नमूना अनुसारको नक्सा उपलव्ध गराउन आग्रह गरे ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयबासी बासुदेव हुमागाइँले काठको घर बनाएकाहरूले दोस्रो किस्ता नपाएको गुनासो गरे ।

उद्धव मैनालीले चार तलाको घर निर्माण गर्न अनुमति दिएको तर हाल आएर धेरै तला भएको भन्दै दोस्रो किस्ता नदिएको गुनासो गरे ।

Photo20180314Sindhuli1

वडा नं. ७ का वडा अध्यक्ष राजन थापाले लावग्राहीलाई बैङ्कले दुःख दिएको भन्दै बैङ्कहरूको अनुगमन गरी कारवाही गर्नु पर्ने बताए । उनले सबैभन्दा ठूलो समस्या ऐलानीमा बसोबास गर्नेको भएको भन्दै ५० वर्षदेखि बसोबास गरिहेकाहरूको समेत लालपुर्जा नभएकाले उनीहरू समस्यामा परेको बताए । उनका अनुसार मरिण गाउँपालिका-७ मा ५० प्रतिशत भन्दा बढी घरधुरी ऐलानीमा बसोबास गर्छन् ।

कार्यक्रममा मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले भूकम्पपीडितहरूलाई सक्दो सहयोग गर्न आफू र गाउँपालिका तयार रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय इकाई सिन्धुलीका प्रमुख वासुदेव हुमागाईले आफूहरू सरकारको नीति नियम कार्यान्वयन गर्ने पक्ष भएकाले आफूहरू सरकारले बनाएको नियमको पूर्ण पालना गराउने पक्षमा भएको बताए । उनले जिल्ला इकाईले केही व्यवहारिक पक्षलाई मात्र हेर्न सक्ने तर नीति नै परिवर्तन गर्न नसक्ने स्पष्ट पारे ।

बिमला पाण्डे