लक्षितवर्गका कार्यक्रम प्रभावकारी बनाइने

  ०७४ पुस ३० गते

डुङ्गेश्वर गाउँपालिकाका उपाध्यक्ष सीता ज्ञवालीले सरकारले निर्दिष्ट गरेको मापदण्ड अनुसार लक्षित वर्गका कार्यक्रमहरूलाई अझ बढी प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकी छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा दैलेखको डुङ्गेश्वर बजारमा पुस २९ गते भएको सेवाप्रदायक र सेवाग्राहीबिचको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो प्रतिबद्धता जनाएकी हुन् ।

वडा र बस्ती स्तरका योजना छनौट प्रक्रियाको बेला नै महिला, दलित, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र बालबालिका लक्षित कार्यक्रमहरू प्रस्तावित गरी पठाए मात्र योजनामा पार्न सकिने प्रक्रियागत बाध्यता बारे उपाध्यक्ष ज्ञवालीले प्रष्ट्याइन् ।

त्यसबखत डुङ्गेश्वर गाउँपालिका वडा नं. ६ का वडा सदस्य तुलसीप्रसाद आचार्यले इन्सेकको इएलपी परियोजना अन्तर्गत गठित मानव अधिकार निगरानी समूह, बालअधिकार चेतना समूह र युवा समूहले बनाएका कार्ययोजनालाई सघाउन वडा कार्यालय तत्पर रहेको बताए ।

वडा नं. १ की वडा सदस्य कमला केसीले गाउँपालिकाका उपाध्यक्ष र हरेक वडामा २ जना महिला सदस्य निर्वाचित भइ आएका कारण महिला क्षेत्रमा विकास कार्यक्रम प्राथमिकता पार्न आफूहरू जुटिरहेको बताइन् ।

अन्तरक्रिया कार्यक्रममा बालबालिका, ज्येष्ठ नागरिक, दलित, महिला र अपाङ्गता भएका वर्ग समुदायका लागि आएको बजेट तथा कार्यक्रम लक्षित वर्गका पनि अति विपन्नलाई पुर्‍याउनुपर्ने र गाउँपालिकाका सबै वडामा समान रूपमा बाँडफाँड गरिनुपर्ने नागरिक समाजका प्रतिनिधि तथा सर्वसाधारणले सुझाव दिएका थिए ।

उठेका प्रश्न, सुझाव र प्रतिक्रियालाई सम्वोधन गर्न साझा प्रतिबद्धता समेत पारित गरिएको छ । विकास बजेट समान वितरण र इएलपी कार्यक्रमले वकालत गर्दै आएको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकास तथा सेवा प्रभावलाई गाउँपालिकाले सघाउने प्रतिबद्धतामा उल्लेख छ ।

अमर सुनार