रुपा गाउँपालिकामा मानव अधिकार समूह गठन

  ०७६ असोज २८ गते

रुपा गाउँपालिकामा ११ सदस्यीय मानव अधिकार समूह गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्वारा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत गठन गरिएको समूहको संयोजकमा क्याप्टेन हर्कबहादुर खत्री रहेका छन् ।

सदस्यहरूमा तिलक खड्का, कौशिला परियार, सरिता कुमाल, लिलाबहादुर पाण्डे, चिनबहादुर खनाल, कमला दही श्रेष्ठ, चुना क्षेत्री, कसीरन मिया, देवी न्यौपाने र सिता सुबेदी रहेका छन् ।

परियोजनाको परिचयात्मक कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष नवराज ओझाले आगामी तीन वर्षभित्र गाउँपालिकालाई मानव अधिकार मैत्री घोषणा गर्ने योजनाका साथ अगाडि बढ्न आग्रह गरे ।

'शिक्षा स्वास्थ्य खाद्य र आवासको क्षेत्रमा गाउँपालिकाले गर्नुपर्ने काम र पहलबारे समूहले सुझाव दिनुहोस् सहकार्य र समन्वय गरेर काम गर्न तयार छौं ।'-उनले भने-'हाम्रो गाउँपालिका पुर्ण साक्षर गाउँपालिका भइसक्यो अब तीन वर्षपछि मानव अधिकारमैत्री गाउँपालिका घोषणा गर्न सकियोस् ।'

राम्रो कार्यक्रम गर्न सकेमा गाउँपालिकाले समूहलाई समेत सहयोग गर्न तयार रहेको उनको भनाइ थियो । गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले गाउँपालिका भित्रका सबै वडामा सक्रियतापूर्वक भुमिका निभाउन आग्रह गरिन् ।

उनले समूहका मात्रै नभई अन्य नागरिकहरूलाई पनि मानव अधिकारको विषयमा चासो दिन आग्रह गरिन् । प्रशासकिय अधिकृत विष्णु पोखरेलले मानव अधिकार सबैको सरोकारको विषय रहेकाले गाउँपालिकाले आवश्यक सहयोग र सहकार्य गर्ने भनाइ राखे ।

वडा नं ५ का वडाध्यक्ष टेकबहादुर गुरुङले मानव अधिकार समूह र गाउँपालिकाले एक अर्काको परिपुरकको रूपमा काम गर्न सकिने बताए ।

यसअघि आफू मानव अधिकार निगरानी समूहको अध्यक्ष समेत रहेको स्मरण गर्दै गुरुङले अधिकारका विषयमा कुरा गर्दै गर्दा कर्तव्यलाई नभुल्न आग्रह गरे ।

आगामी तीन वर्षगाउँपालिका भित्र सञ्चालन गरिने इएलपी कार्यक्रमको बारेमा जानकारी दिँदै इन्सेक कार्यक्रम अधिकृत सवनम शर्माले कार्यक्रमले मानव अधिकारसम्बन्धी ज्ञान, सिप र धारणामा परिर्वतन गर्न सक्ने अपेक्षा राखेको बताइन् ।

समूहका संयोजक हर्कबहादुर खत्रीले समूहले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका समस्यालाई उठाउने मात्रै नभइ समाधानका लागि पहल पनि गर्ने बताए ।

1

1

1

1

1

सुशन घिमिरे