राज्यले उचित सम्बोधन गर्न नसक्दा भूकम्प पीडितका समस्या उस्तै

  ०७५ असोज १५ गते

कमलामाई नगरपालिकाकी उपमेयर मञ्जु देवकोटाले भूकम्प पीडितका समस्या तीन वर्ष बितिसक्दा पनि उस्तै रहेको बताएकी छिन् । राज्यले उचित रूपमा पीडितहरूलाई सम्बोधन गर्न नसक्दा समस्या ज्यूँकात्यूँ रहेको उनले बताइन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तथा जिल्लास्तरीय मानव अधिकार सञ्जाल सिन्धुलीको आयोजनामा असोज १४ गते कमलामाई नगरपालिका–२ निवुवाटारमा गरिएको भूकम्पपछिको राहत तथा पुनर्निर्माण सवालको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

उनले नागरिकहरूका प्रश्नको जबाफ दिँदै स्थानीय तहलाई भूकम्प पीडितका समस्या समाधान गर्ने अधिकार नदिएमा समस्या यथावत रहने बताइन् । कार्यक्रममा बोल्दै उनले ऐलानी जग्गा, किस्ता रकम भुक्तानीका समस्या, भूकम्प पीडित भएर पनि लाभग्राहीमा नपर्नुका कारणबारे स्थानीय तहलाई थाहा हुने भए पनि सरकारले पूर्ण अधिकार दिन नसक्दा समन्वयकारी भूमिकामा सीमित हुनुपरेको बताइन् ।

कमलामाइ नगरपालिका–२ का वडाध्यक्ष नवराज थिङले आफ्नै वडामा ५–७ वटा घर ध्वस्त भएर पनि लाभग्राहीमा नपरेको उदाहरण दिँदै स्थानीय तहलाई अधिकार दिएमा त्यस्ता घरहरू लाभग्राहीबाट बाहिर रहनु नपर्ने बताए । उनले वडामा कार्यरत प्राविधिकहरूलाई नागरिकको सेवा गर्न घरघरमा पुग्न सुझाव समेत दिए ।

सव इन्जिनियर सुमित चौधरीले किस्ता रकमका लागि सिफारिस गर्ने, पुनर्निर्माणमा सहजीकरण गर्नेलगायतका काम भइरहेको बताए ।

कार्यक्रममा भूकम्प पीडितहरूले जग्गा जमिनको लालपूर्जा नभएका कारण घर बनाउन नपाएको, निर्माण सामग्री बोकेर लानुपर्ने समस्या, लाभग्राहीमा नपर्ने तथा गुनासोको सम्बोधन हुन नसकेको, प्राविधिकको लापरवाहीका कारण ५–६ महिनासम्म किस्ता नपाउने तथा फाइल हराउने समस्या, आर्थिक अभावका कारण घर बनाउन नसकेकोलगायतका गुनासो गरेका थिए ।

बिमला पाण्डे