राजविराज नगरस्तरीय मानव अधिकार समूह गठन

  ०७६ मङ्सिर ३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ जनकपुरधामको आयोजना तथा राजविराज नगरपालिकाको समन्वयमा राजविराज नपाको कार्यालयमा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजना अन्तर्गत मङ्सिर २ गते परियोेजनाको परिचयात्मक तथा नगरस्तरीय मानव अधिकार समूह गठन कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा राजविराज नपाका प्रमख शम्भुप्रसाद यादवले मानव अधिकार संरक्षणको कार्य चुनौतीपुर्ण भएपनि त्यसबाट पछि हट्ने ठाउँ नभएको बताए ।

राजविराज नपाकी उपप्रमुख साधना झाले मानव अधिकारको विषय उठान गर्नु नपाकै दायित्व भएको र परियोजनाले सहयोग पु¥याउने बताइन् ।

कार्यक्रममा इन्सेकका साधारण सदस्य बैद्यनाथ झाले राज्यद्वारा महिला, बालबालिका, दलित तथा पछाडि पारिएका अल्पसङ्ख्यक र जोखिममा परेका समुदायलाई प्रदान गरिने शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार स्थानीयस्तरमा प्राप्त हुनुपर्ने बताए ।

अधिकारसँगै कर्तव्य पनि बिर्सिन नहुने भन्दै उनले अधिकारसँग सम्बन्धित सरकारी प्रावधानहरूमा पहुँच बृद्धि गर्न र अधिकारको परिपुर्ति गर्न आवश्यक रहेको बताए ।

नपाको १६ ओटै वडाको प्रतिनिधित्व हुने गरी गठन गरिएको समूहले शिक्षा, स्वास्थ्य, खाद्य र आवास लगायतका जनताको आधारभूत अधिकारबारे सर्वसाधारणलाई जागरुक बनाउने तथा स्थानीय सरकार तथा सम्बन्धित निकायलाई जवाफदेही बनाउने उद्देश्यले परियोजना सञ्चालन गरिएको बताउँदै इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले परियोजना अन्तर्गत सञ्चालन गरिने गतिविधिका बारेमा जानकारी गराए ।

घरेलु तथा साना उद्योग कार्यालय सप्तरीका पूर्व प्रमुख रघुवर साहको अध्यक्षतामा गोविन्द काबरा उपाध्यक्ष, मनोजकुमार माझी सचिव, सीतादेवी मण्डल सह सचिव र पुनम पोखरेल कोषाध्यक्ष रहेको २१ जनाको समूह चयन गरिएको छ ।

सो समूहले कार्ययोजना बनाएर कार्यक्रम अगाडि बढाउने कुरा नवगठित समूहका अध्यक्ष साहले प्रतिबद्धता व्यक्त गरे ।

photo20191116saptari1

photo20191116saptari2

photo20191116saptari3

मनोहरकुमार पोखरेल