मौलिक हक कार्यान्वयन हुनेमा आशावादी छौँ: सरोकारवाला

  ०७६ कात्तिक २३ गते

जिल्ला स्थित सरोकारवालाहरूले इन्सेकद्वारा सञ्चालित परियोजनाले नेपालको संविधान भाग ३ ले व्यवस्था गरेका मौलिक हकहरूको कार्यान्वयनमा सहयोग हुने आशा व्यक्त गरेका छन् ।

कात्तिक २२ गते दशरथचन्द नगरपालिकामा आयोजित परियोजना परिचयात्मक तथा मानव अधिकार समूह गठनका सहभागिहरूले उक्त आशा व्यक्त गरेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले परियोजनाले दशरथचन्द नगरपालिकालाई पनि सहयोग पुग्ने बताएका छन् ।

शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवालमा नगरपालिकालाई जबाफदेही बनाउने कुरामा पनि परियोजनाले सहयोग गर्ने थापाको भनाई छ ।

उनले भने–‘शिक्षा, स्वास्थ, खाद्य र आवासका अधिकारहरूबाट वञ्चित नगरवासीहरूको आवज उठाउन गठन गरिने मानव अधिकार समूहले हामीलाई पनि जबाफदेही बनाउने विश्वास लिएका छौँ ।’ साथै नव गठित समितिसँग नगरपालिकाले सदैव सहकार्य गर्ने समेत थापाले बताएका छन् ।

कार्यक्रममा बोल्दै नेपाल बार एसोसिएशनका जिल्ला उपाध्यक्ष हरिदत्त भट्टले परियोजनाले नेपालको संविधानले व्यवस्था गरेका मौलिक हकहरूलाई कार्यान्वयन गर्नमा सहयोग गर्ने विश्वास रहेको बताएका छन् ।

गुणस्तरीय शिक्षा, स्वास्थ्य, खाद्य र आवसका सुविधाबाट यहाँका अधिकासं नागरिकहरू वञ्चित भएको स्मरण गराउँदै भट्टले यसमा सम्बन्धित निकायलाई जिम्मेवार बनाउन परियोजनाले भुमिका खेल्नुपर्ने धारणा राखेका छन् ।

उनले भने–‘परियोजनाले सम्बन्धित निकायलाई जबाफदेही बनाउदै मौलिक हकहरूको कार्यान्वयन गराउने आशा राखेका छौँ ।’

कार्यक्रमका मर्सिकोर नेपालका जिल्ला अधिकृत लालबहादुर महराले मानव अधिकारको संरक्षणका लागि परियोजनाले भुमिका खेल्ने विश्वास रहेको बताएका छन् ।

उनले भने–‘अधिकांश नागरिकहरू मौलिक हकबाट वञ्चित भइरहेको अवस्थामा परियोजनाले यसबारे बोल्ने वातावरण सृजना गर्न लागेको छ ।’

नेपाल रेडक्रस सोसाइटी बैतडी शाखाका कार्यक्रम अधिकृत तेजप्रसाद पाण्डेले मानव अधिकारको संरक्षण जरुरी रहेको र यसमा परियोजनाले पनि भुमिका खेल्नुपर्ने बताएका छन् ।

विगतदेखि नै इन्सेकले वर्ष पुस्तक प्रकाशनमार्फत मानव अधिकारको अवस्थाका बारेमा समग्र देश तथा अन्र्तराष्ट्रिय जगतलाई जानकारी गराउँदै आएको कुरा स्मरण गर्दै पाण्डेले भने–‘इसेकले अझै मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा महत्वपुर्ण भुमिका खेल्ने विश्वास लिएका छौँ ।’

दशरथचन्द नगरपालिका बैतडीमा गठित मानव अधिकार समूहले आर्थिक समाजिक तथा सांस्कृतिक अधिकारका सावलहरूलाई जोडदार रूपमा उठाउने प्रतिबद्धता गरेका छन् । गठन पछिको पहिलो बैठकमा बोल्दै कार्यसमितिका पदाधिकारीहरूले यस्तो बताएका हुन् ।

बैठकमा समूहकी अध्यक्ष सरस्वती भट्टले यहाँका नागरिकहरूले अझैसम्म पनि आर्थिक, समाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न नपाएकाले सोको वकालत समूहले गर्ने बताएकी छिन् ।

समूहको नियमित बैठक तथा अन्य कार्यक्रमहरूमा पनि यस्ता सवालहरूको उठान गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराउने समितिका सचिव केशब भट्टले बताएका छन् ।

भट्ट अध्यक्ष रहेको मानव अधिकार समुहको उपाध्यक्षमा उत्तम चन्द, सचिवमा केशब भट्ट, कोषाध्यक्षमा दीप जोशी, सहसचिवमा ताराराम महरलगायत अन्य ६ जना सदस्यहरू छन् । मानव अधिकार समुह गठनमा नगरपालिकाका सबै वडाहरूको प्रतिनिधित्व गराइएको थियो ।

नरी बडु