मानव अधिकार सम्बर्द्धनमा लाग्नुपर्छः सरोकारवाला

  ०७६ पुस ८ गते

पर्वतमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू बढ्दै गएको तथ्याङ्क सार्वजनिक भएपछि सरोकारवालाहरूले मानव अधिकार सम्बर्द्धसँगै उल्लङ्घन र ज्यादतीका घटना न्यूनीकरणमा चासो व्यक्त गरेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्वतको आयोजनामा पुस ७ गते सञ्चालित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पुर्व वार्षिक समीक्षा कार्यक्रमका सहभागीहरूले मानव अधिकार सम्बद्र्धनमा लाग्न जोड दिएका हुन् ।

इन्सेकद्वारा सङ्कलित तथ्याङक सार्वजनिक गर्ने क्रममा यौन दुव्र्यवहारका घटनाहरु अत्याधिक मात्रामा देखिएपछि यस्ता प्रकृतिका घटना न्यूनीकरणका लागि राज्य पक्ष र नागरिक समाज नै सचेतना अभियानमा जुट्नुपर्ने अवस्था आएको नागरिक समाज पर्वतका पुर्व संयोजक राजेन्द्र पहाडीले बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदीले राज्यतहबाट भन्दा पनि सर्वसाधारणहरूबाटै उल्लङ्घनका घटनाहरु बढ्दै गएको बताउँदै राज्यका निकायबाट मानव अधिकार उल्लंघन हुन नदिन आफूहरू सदैव सचेत रहेको बताउनुभयो ।

कार्यक्रममा सन् २०१९ मा भएका मानव अधिकार उल्लङ्घनका घटनाहरू सार्वजनिक गरिएका थिए ।

इन्सेक प्रतिनिधि सन्तोष थापाका अनुसार पर्वतमा सन् २०१९ मा बाल यौन दुर्व्यवहारका घटना सात, महिला बलात्कारका घटना चार, हत्याका दुई, बम विष्फोट १, घरेलु हिंसाका १० र भौतिक सम्पति क्षतिको एक गरी २९ ओटा घटना अभिलेख गरिएको छ ।

 

सन्तोष थापा