मानव अधिकार समूहले आफ्ना अधिकारका बारेमा जागरूक बन्न सहयोग गर्ने

  ०७६ कात्तिक २२ गते

गाउँपालिकामा गठन हुने मानव अधिकार समूहले स्थानीय जनता आफ्ना अधिकारका बारेमा सचेत र जागरूक बन्न सहयोग गर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा कात्तिक २१ गते बन्दिपुरमा सम्पन्न मानव अधिकार संरक्षण र सम्बर्द्धनका लागि राज्यको जबाफदेहिता तथा जनताको सहभागिता अभिबृद्धिसम्बन्धी परियोजनाको परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रमका सहभागीहरूले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले इन्सेकले आगामी तीन वर्षसम्म बन्दिपुर गाउँपालिकामा सञ्चालन गर्ने शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी कार्यक्रमले स्थानीयलाई अधिकारका बारेमा सचेत गराउनेतर्फ आफू आशावादी रहेको बताए ।

अध्यक्ष थापाले संविधानमा उल्लेखित मौलिक हकको कार्यान्वयन भएमा नै मानव अधिकारको प्रत्याभूति हुने बताए ।

जनता शिक्षित भएमा पनि उनीहरू आफ्नो अधिकारको मागदावी गर्न सक्ने र त्यसले मानव अधिकारको हनन्को घटनामा धेरै नै कमी आउने अध्यक्ष थापाले बताए ।

स्थानीय तहसँग समन्वय गरेर सञ्चालन गरिने कार्यक्रममा गाउँपालिकाको पुर्ण सहयोग हुने अध्यक्ष थापाको भनाई थियो ।

गाउँपालिकाकी उपाध्यक्ष करूणा गुरूङले गाउँपालिकाले दलित, जनजाती, अल्पसंख्यक, महिला र बालबालिका सम्बन्धित लक्षित वर्गलाई विशेष प्राथमिकता दिएको हुँदा परियोजनाले सबै पक्षलाई सम्बोधन गर्न सक्नु पर्ने बताइन् ।

कार्यक्रममा इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखराका संयोजक शिव खकुरेलले संविधानले मौलिक हकको रूपमा प्रत्याभुत गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको बारेमा स्थानीय जनतालाई सचेत बनाउने र सेवाग्राहीलाई जिम्मेवार र जबाफदेही बनाउन सो परियोजना सञ्चालन गरिरहेको बताए ।

बन्दिपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटाले गाउँपालिकाले तय गरेको नीति, योजना र कार्यक्रमसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्न सकेमा प्रभावकारी हुने र प्रतिफल पनि प्राप्त हुने बताए ।

कार्यक्रममा १३ सदस्यीय मानव अधिकार समूह समेत गठन गरिएको छ । समूहको संयोजकमा बबिता थापा र सदस्यहरूमा सरिता पिया, दिलकुमारी राना, सुरज जोशी, शान्ती कुँवर, सविना मल्ल, बिना गुरूङ, दिपा गुरूङ, मिनबहादुर गुरूङ, तारामाया थापा, लक्ष्मी लामिछाने, मनमाया भट्टराई र गुठामाया कुँवर रहेका छन् ।

Phot020191108Tanahun01

Photo20191108Tanahun02

Photo20191108Tanahun03

प्रकाशचन्द्र भट्टराई