मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा

  ०७३ मङ्सिर २३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भोजपुरको आयोजनामा मङ्सिर २३ गते नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ लागि सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

photo20161208bhojpur

पूर्व समीक्षा कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, मानव अधिकारकर्मी, पत्रकार र गैरसरकारी सङ्घसंस्थाहरूको प्रतिनिधि र सर्वसाधरणसहित २४ जनाको उपस्थिति थियो । कार्यक्रममा मानव अधिकार हनन्का घटना सार्वजनिक गर्दै इन्सेक भोजपुर जिल्ला प्रतिनिधि किरण राईले अधिकांश ज्यादतीका घटनाहरू रहेको बताएका छन् ।

कार्यक्रममा राजनीतिक दलहरूको तर्फबाट बोल्दै नेकपा एमालेका सचिव शरणकुमार राईले मानव अधिकार उल्लङ्घनका घटनाहरूलाई रोक्न सबैको साझा प्रतिवद्धता चाहिने बताए । मानव अधिकारको उल्लङ्घन घटनालाई रोक्न सबैले नागरिक तहमा सचेतना समेत आउनुपर्ने बताए ।

नागरिक समाज भोजपुरका संयोजक परशुराम तिवारीले मानव अधिकार हनन्को घटना सङ्कलन मात्रै नभई अन्य कार्यक्रमहरूलाई पनि प्राथमिकता दिएर सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए ।

महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष सविना राईले जिल्लामा महिला हिंसा धेरै रहेकोले त्यस्तो घटनालाई रोक्नका लागि सबैको सहयोग र सद्भावको आवश्यकतामा जोड दिइन् । त्यसका लागि इन्सेकको विशेष भूमिका हुनुपर्ने बताइन् ।

गैरसरकारी महासङ्घका अध्यक्ष बलराम राईले मानव अधिकार उल्लङ्घनका जघन्य घटनामा संलग्न भएकाहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने र गाउँ गाउँमा हिंसालाई रोक्न सचेतना जगाउनुपर्ने बताए ।

मानव अधिकार एलाइन्सका सचिव बुद्धप्रसाद तामाङले जिल्लामा मानव अधिकार उल्लङ्घनका घटनाहरूलाई रोक्नका लागि सबैको साझा तत्परता रहनुपर्ने बताए । कार्यक्रममा प्रशासन, प्रहरी, सरकारी कार्यालयका प्रतिनिधिहरूले पनि सल्लाह सुझाव दिएका थिए ।

किरण राई