मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

  ०७६ असार २३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा असार २२ गते कलैयामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

Photo20190708Bara (2)

इन्सेक बारा जिल्ला प्रतिनिधि भोलानाथ पौडेलले सन् २०१९ को जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा बारामा ६७ ओटा मानव अधिकार अल्लङ्घन र ज्यादतीका घटनाहरू अभिलेख गरिएको जानकारी दिए ।

अभिलेखित घटना अनुसार हत्याका पाँच, हत्या प्रयासका चार, अपहरण एक, कुटपिट आठ, बलात्कार चार, बलात्कार प्रयास तथा यौन दुर्व्यवहार १२, बहुविवाह चार, कुटपिट नौ, मार्ने धम्की दुई, कथित बोक्सीको आरोप एक, जातीय विभेद एक र तोडफोडका दुई ओटालगायतका घटना रहेको पौडेलले बताए ।

Photo20190708Bara (3)

समीक्षा कार्यक्रममा पुर्व राज्य मन्त्री कलावती देवी पासवानले मानव अधिकार अल्लङ्घन भएका घटना नछुटाई अभिलेख गर्नु पर्ने बताइन् ।

उनले जात, धर्म, उमेर, लिङ्ग र राजनीतिक विचारका आधारमा भेदभाव भइरहेको उल्लेख गर्दै अपराधका घटनामा संलग्न व्याक्तिहरू कानुनी दायरामा नआएकाले तत्काल कानुनी दायरामा ल्याउन राज्यलाई नागरिक समाजले सहयोग गर्नु पर्नेमा जोड दिइन् ।

Photo20190708Bara (1)

नागरिक समाज बाराका महासचिव जिल्ला स्तरीय मानव अधिकार निगरानी समूहका अध्यक्ष हिरालालप्रसाद साहले जिल्ला प्रतिनिधि पौडेलले नागरिक समाजसँग प्रत्येक महिना यसरी नै मानव अधिकारको अवस्थाबारे समीक्षा गर्न सुझाव दिए ।

राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाराका प्रमुख तथा उप-अनुसन्धान निर्देशक बिमन घिमिरेले मानव अधिकारका क्षेत्रमा पर्ने घटना मात्र वर्ष पुस्तकमा राख्न र मानव अधिकार भित्र नपर्ने घटना वर्ष पुस्तकमा नराख्न सुझाव दिए ।

सशस्त्र प्रहरी बल नं. १२ गण हेडक्वाटरका एसपी प्रकाश थापाले मानव अधिकारको रक्षा गर्दै जिम्मेवारी निभाएको बताए ।

उनले सुरक्षासम्बन्धी नागरिकका समस्या समाधान गर्न र शान्त समाजको निमार्ण गर्न नागरिकले प्रहरीलाई सूचना दिनुपर्ने बताए ।

जिल्ला न्यायाधिवक्ता महेन्द्रबहादुर थापाले कानुनी दायरामा नआएका घटना कानुनी दायरामा ल्याउन नागरिक समाजले राज्यलाई जानकारी दिनु पर्ने बताए । उनले राज्यले जुनसुकै अपराधलाई पनि कडाइका साथ अनुसन्धान गर्ने बताए ।

उनले अपराधमा संलग्न व्याक्तिहरूले सामाजिक सद्भाव र समाजको शान्ति खलल् गर्ने भएकाले उनीहरूलाई कानुनी दायरामा ल्याउन सबैले राज्यलाई सहयोग गर्न आग्रह गरे ।

बारा जिल्ला अदालतका नायव सुव्वा रमेश यादवले संविधानले प्रदान गरेका नागरिकका हक अधिकार संरक्षण गर्न राज्य र नागरिक समाज मिलेर उपयोग गर्नुपर्ने बताए ।

कलैया उपमहानगरपालिका-२७ का नागरिक सुरेश यादवले धनी र टाठाबाठाले गरिब नागरिकलाई हेप्ने प्रवृत्तिको अन्त्य हुन जरुरी रहेको बताए ।

भोलानाथ पौडेल