नेपाल मानव अधिकार वर्ष पुस्तक इन्सेकको प्राण: इन्सेक अध्यक्ष श्रेष्ठ

  ०७६ पुस २५ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले मानव अधिकार वर्ष पुस्तक इन्सेकको प्राण भएको बताउनु भएको छ । उहाँले वर्ष पुस्तकको महत्वलाई बुझेर अभिलेख गर्न जिल्ला प्रतिनिधिहरूलाई आग्रह गर्नु भएको छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रदेश १ सम्पादन भेलाको पुस २५ गते उद्घाटन सत्रमा बोल्दै अध्यक्ष श्रेष्ठले वर्ष पुस्तकले इन्सेकको कामलाई व्युँताईरहने बताउनुभयो । उहाँले ‘ अभिलेखीकरण गरिएका घटनाहरू १० वर्षपछि पनि खोजिने बताउनुभयो ।’ वर्ष पुस्तकमा समेटिएका र अभिलेख गरिएका घटनाले पीडितले न्याय समेत पाएको बताउँदै अध्यक्ष श्रेष्ठले सूचनाको जवाफदेही इन्सेक जिल्ला प्रतिनिधिहरू हुने सोही बमोजिम घटना अभिलेखीकरण आग्रह गर्नु भएको छ  । अध्यक्ष श्रेष्ठले मानव अधिकार उल्लङ्घनका हरेक विषयलाई उजागर गर्ने र सचेत गराउने इन्सेक अभियान जिल्ला प्रतिनिधिको लगनशीलताले सम्पन्न हुँदै आएको बताउनुभयो ।

कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले घटना सङ्कलनका क्रममा प्रहरीलाई प्राथमिक श्रोतका रूपमा प्रयोग नगर्न जिल्ला प्रतिनिधिलाई आग्रह गर्नुभयो । उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा वर्ष पुस्तकको गरिमा र महत्व छुट्टै रहेकाले सोही साखका लागि काम गर्न जिल्ला प्रतिनिधिलाई सुझाव दिनुभयो । घटना सङ्कलनका लागि पीडित समक्ष नै पुग्न उहाँको आग्रह छ । इन्सेक केन्द्रीय कार्यालय काठमाडौँका रमेशप्रसाद तिमल्सिनाले जिल्ला प्रतिनिधिहरूले पीडितलाई भेटेरै घटना सङकलन र अध्यावधिक गर्नुपर्ने बताउनु भयो ।

सम्पादन भेलामा प्रदेश १,का १४ जना इन्सेक प्रतिनिधिहरूको सहभागिता छ । भेला पुस २६ गते समापन हुनेछ ।

Photo20200110Morang (1) Photo20200110Morang (2)

Photo20200110Morang (3) Photo20200110Morang (4)

 

 

नेत्र पी अधिकारी