मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा

  ०७४ मङ्सिर २५ गते

रामेछाप जिल्लाको लैङ्गिक हिंसाको अवस्थाको समीक्षा विषयक अन्तरक्रिया तथा इन्सेकको मानव अधिकार वर्ष पुस्तकको पूर्व समीक्षा कार्यक्रम मङ्सिर २४ मन्थलीमा सम्पन्न भएको छ ।

Photo20171211Ramechhap

'लैङ्गिक हिंसा अन्त्यका लागि सबै जुटौँ, कोहि नछुटौँ' भन्ने नाराका साथ नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिवसिय अभियानका अवसरमा महिला तथा बालबालिका कार्यालयको आयोजना तथा इन्सेक, जुरी नेपाल, मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालको समन्वयमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले चेतनाको कमी, आर्थिक समृद्धि नहुनु र समाजको कूसोचका कारण मानव अधिकारको अवस्थामा सुधार आउन नसकेको बताए ।

उनले पछिल्लो समय महिलामाथि हुने हिंसा बढ्दो अवस्था रहेको बताए । महिलामाथि हुने मानव अधिकारको संरक्षणको लागि सचेतनाको विकास हुन आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले मानव अधिकारको संरक्षणको लागि कानुनको कडा कार्यान्वयन हुने पर्ने बताए ।

रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामिछानेले मानव अधिकार व्यक्तिको आधारभूत अधिकारसँग जोडिएकोले यसको संरक्षणमा सबै लाग्नु पर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामिछानेको अध्यक्षता र जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महिला तथा बालबालिका कार्यालयकी प्रमुख सत्यदेवी अधिकारीले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान भित्र जिल्लामा सञ्चालन भएको कार्यक्रमबारे जानकारी गराएकी थिइन् ।

इन्सेक रामेछापका प्रतिनिधि नवराज पथिकले रामेछापमा २०१७ जनवरीदेखि डिसेम्बरसम्म २६ ओटा मानव अधिकार उल्लङ्घनका घटना अभिलेख गरिएको बताए । उनका अनुसार जिल्लामा जातीय विभेदका एक, बलात्कारका दुई, आर्थिक अधिकारका एक, राजनीतिक अधिकारको नौ र अन्य महिला हिंसासम्बन्धी घटना अभिलेख गरिएको बताए ।

अनलाइन डेस्क