मानव अधिकार रक्षाका लागि इन्सेक अभियानलाई साथ दिन्छौँः जनप्रतिनिधि

  ०७६ कात्तिक १८ गते

मानव अधिकार र सामाजिक न्यायका निम्ति क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अभियानलाई साथ दिने जनप्रतिनिहरूले बताएका छन् ।

मानव अधिकारका मूल्य र मान्यतालाई स्थापित गराउने इन्सेकको उद्देश्यलाई आफूहरूले साथ दिने अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानामगरले बताएका छन् ।

इन्सेकले झापाका अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाँउपालिकामा सञ्चालन गर्न लागेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजनाको परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रममा कात्तिक १८ गते बोल्दै मेयर रानामगरले इन्सेक अभियानलाई साथ दिने बताएका हुन् ।

संविधानले सुनिश्चित गरेको शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारलाई स्थापित गराउने लक्ष्यका साथ इन्सेकले इएलपी परियोजना सञ्चालन गरेको छ ।

गास, बास, आवास, शिक्षा र स्वास्थ्य अधिकारलाई संविधानले सुनिश्चित गरेको हुँदा कार्यान्वयन गर्ने काम स्थानीय सरकारको दायित्वलाई थप जिम्मेवार बनाउन परियोजनाले सहयोग गर्ने विश्वास जनप्रतिनिधिहरूले राखेका छन् ।

समाजमा मानव अधिकार स्थापित गराउने र मानव गरिमा कायम राख्ने लक्ष्य परियोजनाले लिएको इन्सेक प्रदेश १ की कार्यक्रम अधिकृत वागमती कट्टेलले बताएकी छन् ।

कार्यक्रममा चन्द्र सुवेदीको अध्यक्षतामा १७ सदस्यीय मानव अधिकार समूह गठन गरिएको छ । समूहको उपाध्यक्षमा रीना मगर, सचिवमा विष्णुप्रसाद आचार्य, सहसचिवमा सुभद्रा गेलाल र कोषाध्यक्षमा सीता कँडेल रहेका छन् ।

त्यसैगरी सदस्यहरूमा विष्णु प्रसाई, जीना लिम्बू, राजकुमार लोहार, एकदेव खनाल, मुना भट्टराई, राज खम्बु, सीता भारती, झुमा घिमिरे, पशुपति खतिवडा, सुशीला गिरी, अनरूल मोहम्मद र अशोक बान्तवा रहेको परियोजनाका स्थानीय सहजकर्ता राजन राईले बताए ।

photo20191105jhapa (1)

photo20191105jhapa (2)

photo20191105jhapa (3)

photo20191105jhapa (4)

नरेश खाती