मानव अधिकार रक्षाका लागि सबैको भूमिका समान रहनेमा सरोकारवालाहरूको जोड

  ०७५ कात्तिक २९ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१९ को लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ताप्लेजुङमा कात्तिक २९ गते सम्पन्न गरिएको छ ।

समीक्षा कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले मानव अधिकार साझा विषय भएकाले मानव अधिकारको रक्षाका लागि सबैको भूमिका समान हुनु पर्नेमा जोड दिएका छन् ।

समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले मानव अधिकार रक्षा सबैको साझा दायित्व भएको बताए । उनले इन्सेकले प्रकाशन गर्ने तथ्याङ्क नेपालको मानव अधिकारको ऐना भएको उल्लेख गरे ।

सिडिवे भण्डारीले पछिल्ला दिनमा सामाजिक सञ्जालका कारण व्यक्तिको गोपनियता भङ्ग हुने गरेका कारण कतिपय अवस्थामा सम्मानपूर्वक बाँच्न पाउने अधिकारमा आँच आउने गरेको बताए । सामाजिक सञ्जालको दुरूपयोग रोक्न स्थानीय तहलाई विशेष भूमिका खेल्न आग्रह गरे ।

समीक्षा कार्यक्रममा बोल्दै फुङलिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराईले जिल्लामा हुने बलात्कार र बालविवाह न्यूनीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गर्न खाँचो रहेको बताए ।

न्यायिक समिति संयोजक समेत रहेका भट्टराईले मानव अधिकार शिक्षा पर्याप्त नभएका कारण मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू बढेको औल्याउँदै विद्यालय शिक्षामा मानव अधिकार शिक्षालाई विशेष प्राथमिकतामा राख्न नगरपालिकाले पहल थालेको बताए ।

समीक्षा कार्यक्रममा बोल्ने क्रममा डिएसपी सञ्जयसिंह थापाले मानव अधिकारको रक्षाका लागि प्रहरी सचेत भएको बताए । डिएसपी थापाले मानव अधिकार रक्षाका लागि पीडितलाई न्याय र पीडकलाई कारवाही गर्न प्रहरी कहिल्यै नचुक्ने बताए ।

वार्षिक समीक्षामा आफ्ना धारण राख्ने क्रममा होटल व्यवसायी सङ्घका उपाध्यक्ष सुरेश सिंघकले होटलमा बालश्रमिक प्रयोग नगरिएको बताए । उनले बालश्रम अन्त्यका लागि व्यवसायी सचेत भएको बताए ।

नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाका कार्यवहाक अध्यक्ष चन्द्र पन्दाकले बलात्कार बाहेक मानव अधिकारसँग जोडिएका विषयवस्तुलाई इन्सेकले महत्व दिनुपर्ने सुझाव दिए ।

समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधि देवराज गुरूङले सन् २०१८ भित्र जिल्लामा भएका मानव अधिकारको घटना तथा मानव अधिकारको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरे । महिला तथा बालबालिका बलात्कारका कारण पीडित बनेको घटनाले छोरीचेली असुरक्षित बन्दै गएकाले यसतर्फ ध्यान केन्द्रित हुनुपर्ने प्रतिवेदनले औँल्याएको छ ।

प्रतिवेदनले १८ वर्षमुनीका ६ जना बालिका र १८ वर्षमाथिका ६ जना महिला बलात्कारमा परेको देखाएको छ । प्रतिवेदनामा एक जना बालिका यौन दुर्व्यवहारबाट र तीन जना महिला बलात्कार प्रयासमा परेको उल्लेख छ । हाडनाता र चिनेजानेकाबाट नै बालिका/महिला बलात्कृत भएको प्रतिवेदनले देखाएको छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तकमार्फत इन्सेकले सन् १९९२ देखि देशका सबै जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेखीकरण गर्ने गरेको छ ।

देवराज गुरूङ