मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  ०७७ साउन १२ गते

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिममा  मानव अधिकारको अवस्था तथा कोरोना भाइसरका कारण मानव अधिकार रक्षकहरुमा परेको असर विषयक अन्तरक्रिया कार्यक्रम साउन १२ गते धनगढीमा सम्पन्न गरिएको छ ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रदेश संयोजक खडकराज जोशीले कोभिड १९ को महामारीमा चार महिनाको अवधीमा देशै भरी १ हजार १ सय ९९ सय जना राज्य र गैरराज्य पक्षबाट पीडित भएको सोही क्रममा ४० जना स्वास्थ्यकर्मीसमेत पीडित भएको तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रमुख झंकर रावलले जिल्लामा गठित मानव अधिकार अनुगमन समितिले कोभिड १९ को महामारीका कारण सकृय भएर काम गर्न नसेको बताउँदै यस दौरानमा भएका मानव अधिकार उल्लङ्घनका घटनाहरु सबै बाहिर आउन नसकेकाले आयोगले अनुगमन सुरु गर्ने योजना बनाएको बताउनु भयो ।

नेपाल बार एशोशियसनका अध्यक्ष शिवबहादु केसीले लकडाउनका क्रममा दैनिक ज्यालादारी गरी खाने मजदुरको रोजगार गुमेपछि खोलामा उम्रेको पीडालु खाएर दैनिकी चलाउनु  पर्ने अवस्था आएको भएपनि सरकारले उचित सम्बोधन गर्न नसकेको बताउनु भयो ।

पत्रकार महासंघका अध्यक्ष अर्जुन शाहले लकडाउनको चार महिनाको अवधीमा भारतबाट परिवारसहित फर्केकाहरुलाई सबै भन्दा बढी समस्या भएको बताउँदै उहाँहरुको आर्थिक अवस्था नाजुक रहेकोले खाद्यान्नको समस्या भएको बताउनु भयो ।

दलित महिला अधिकार मञ्चका  अध्यक्ष साबीत्रा घिमिरेले भारतबाट फर्केर क्वारेण्टाइनमा बसेकाहरुलाई राहत वितरण  गर्दा स्थानीय सरकारले सुत्केरी, गर्भवती, अपाङ्गता भएका व्यक्तिहरुलाई पोषणयुक्त आहारको व्यवस्था गर्न नसकेको बताउनु भयो ।

धनगढी एफएमका कार्यकारी निर्देशक हरी जोशीले कोरानाको  डरले भारतबाट ठुलो समूह फर्के पनि रोग भन्दा भोकको चिन्ताले भारतको सिमलामा स्याउ टिप्न जानेहरुको अर्को समुह तयार भएको बताउँदै स्थानीय सरकारको नीति तथा कार्यक्रममा बेरोजगारहरुलाई समेटनका लागि नागरीक तहबाट दवाव दिन आवश्यक भएको बताउनु भयो ।

कार्यक्रममा डिसिए परियोजना अन्तर्गत मानव अधिकार रक्षकहरुको संरक्षण र संबर्द्धनका लागि र पीडितहरुको न्यायमा पहुँच बढाउन आवश्यकता अनुसार आर्थिक सहयोग आवश्यक भएकोले मानव अधिकार सहायता कक्षको सहयोगमा मानव अधिकार रक्षक र पीडितहरुलाई सहयोग गर्ने सहभागिहरुले प्रतिवद्धता जाहेर गरेका थिए ।

photo20200727kailali (1)

photo20200727kailali (2)

मैनामोती चौधरी