मानव अधिकार निगरानी समूहसँग अन्तरक्रिया

  ०७५ पुस १३ गते

इनरुवा नगरपालिका–७ चान्दबेलामा मानव अधिकार निगरानी समूहसँग पुस १३ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

आनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १, कार्यालय विराटनगरको आयोजनामा चान्दबेलामा मानव अधिकार निगरानी समूहका पदाधिकारीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि र खाद्य अधिकारको विषयमा छलफल गरिएको कार्यक्रम संयोजक बागमती कट्टेलले बताइन् ।

अन्तरक्रियामा त्रिवेण सिंहले वडा कार्यालयको सेवा प्रभावकारी, पारदर्शी र प्रभाव पार्ने खालका नभएकाले शिक्षा, स्वास्थ्यको अवस्था नाजुक भएको बताए ।

सिंहले विद्यालयहरुमा शिक्षकहरूले समयसम्म पठनपाठन नगरेको, स्वास्थ्यकर्मीहरू स्वास्थ्य संस्थामा विहान १० बजेदेखि ४ बजेसम्म नबसेको गुनासो गरे ।

विद्यालयका प्रधानाध्यापक काशीराम चौधरीलाई पटकपटक जानकारी दिएपनि बेवास्ता गरेको सिंहको भनाई थियो ।

स्वास्थ्य चौकी चान्दबेलाका इञ्चार्ज निखिल पोखरेलले स्वास्थ्य सेवा दिन आफूहरूको समय दिउँसो ३ बजेसम्म मात्रै भएको दावी गरे ।

उनले कार्यालय समयमा नआएको कुरा अस्वीकार गरेपनि दिउँसो ३ बजेसम्म मात्रै बसेको स्वीकार गरे ।

पोखरेलले स्वास्थ्य चौकीमा पर्याप्त औषधि नभएको, प्रकृया नै धेरै पुरा गर्नुपर्ने भएकाले चौकीमा औषधीको पटकपटक अभाव भएको सुनाए ।

चान्दबेला मानव अधिकार निगरानी समूहका अध्यक्ष गगन सिंहको अध्यक्षता र इन्सेकका बागमती कट्टेलको प्रमुख आतिथ्तामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

जयकृष्ण यादव