मानव अधिकार उल्लंघनका घटनाहरुलाई मूलप्रवाहमा ल्याउन आवश्यक: प्रजिअ विष्णु कार्की

  ०७६ पुस १० गते

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीले कानुनी दायरामा आउन नसकेका मानवअधिकार उल्लंघनका घटनाहरुलाई मुलप्रवाहमा ल्याउन मानवअधिकारकर्मीहरु क्रियाशिल हुनुपर्ने सुझाव दिनुभएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को आयोजनामा पुस १० गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को पूर्व वार्षिक समिक्षा कार्यक्रममा बोल्दै उहाँले जिल्ला प्रशासन, प्रहरी, अदालत र स्थानीय निकाय सम्म पुग्न नसकेका मानवअधिकार उल्लंघनका घटनाहरुको तथ्यांक, त्यसको कारण र उनीहरुलाई कसरी मुलप्रवाहमा ल्याउन सकिन्छ भन्ने बारेमा सबै सरोकारवाला गम्भीर बन्न आवश्यक रहेको बताउनुभयो ।
मानवअधिकारको विषय विस्तृत र धेरै फराकिलो रहेको भन्दै उहाँले न्यायिक निकायमा पुगेका घटना मात्रै नभई ग्रामिण स्तरमा मिलापत्र गरिएका मानव अधिकार उल्लंघनका घटना, उपभोक्ता अधिकार, शिक्षा, स्वास्थ्य, र खाद्य अधिकारका बारेमा मानव अधिकारकर्मीहरुको ध्यान पुग्न आवश्यक रहेको बताउनुभयो । उहाँले व्यक्तिले आप्mनो अधिकार उपभोग गर्ने क्रममा देखिने बाधाहरु धेरै भएको भन्दै यसबारे गम्भीर बन्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथि जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का एसपी मोहन प्रसाद पोखरेलले मानवअधिकार रक्षाको लागि नेपाल प्रहरी सदैव गम्भीर रहेको भन्दै अधिकार उपभोगसंगै कर्तव्यको पाटोमा सबै सजक हुन आवश्यक रहेको बताउनुभयो । उहाँले केही घटनामा पीडित पक्षको उजुरी लिन प्रहरीले आनकानी वा ढिलाई गरेको भन्ने विषय उठेको भन्दै प्रहरीले नियतबस आउने उजुरीहरुको हकमा केही अनुसन्धान भएको हुदाँ त्यस्तो लागेको हुन सक्ने बताउनु भयो ।
उपभोक्ता अधिकार मञ्च कावासोती नगरपालिकाका अध्यक्ष डोरमान गिरीले उपभोक्ताको अधिकार सुनिश्चित गर्न तर्फ सबै गम्भीर बन्न आग्रह गर्नुभयो । उहाँले बजारमा उपभोक्ताहरुको अधिकार विरुद्ध हुन सक्ने उल्लंघन रोक्न नियमित बजार अनुगमन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा इन्सेक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० को लागि जिल्लामा सन २०१९ मा संकलन गरिएका घटनाहरुको विवरण प्रस्तुत गर्नु भएको थियो । सो क्रममा उहाँले सन २०१९ मा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा ५० वटा घटनाहरुको अभिलेखिकरण गरिएको जानकारी दिनुभयो । जसमा सबै भन्दै बढी बलात्कार तथा यौन दुर्व्यवहारका २० वटा घटनाको अभिलेखिकरण गरिएको उहाँले जानकारी दिनुभयो । जसमध्ये १२ जना बालिका र ८ जना महिला पीडित भएको विवरण उहाँले प्रस्तुत गर्नु भयो ।
यो वर्ष नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका १४ जनालाई गिरफ्तार गरिएका १३ वटा घटना फारम संकलन गरिएको जानकारी दिनुभयो । त्यस्तै सम्पत्ति क्षतीका ७ वटा, महिला हिंसाका ५ वटा, गैरराज्य पक्षबाट हत्या १, प्रहरीलाई धम्की १, विद्यार्थीमाथि कुटपिटको १, महिला बेचबिखन तथा शारिरीक बन्धक बनाएको १ र बोक्सीको आरोप लगाएको सम्बन्धी १ घटनाको अभिलेखिकरण गरिएको उहाँले जानकारी दिनुभयो ।

photo20191227nawalpur1

photo20191227nawalpur2

photo20191227nawalpur3

photo20191227nawalpur4

photo20191227nawalpur5

photo20191227nawalpur6

photo20191227nawalpur7

तिर्थराज डुम्रे