मानव अधिकारको प्रत्याभूतिको लागि इन्सेकसँग सहकार्य गर्ने प्रतिबद्धता

  ०७६ कात्तिक २६ गते

कावासोती नगरपालिका उपप्रमुख प्रेमशङ्कर मर्दनियाले नगरपालिका भित्रका नागरिकहरूलाई मानव अधिकारको प्रत्याभूति गराउनका लागि नगरपालिकाले इन्सेकसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को आयोजनामा कावासोती नगरपालिकामा कात्तिक २५ गते सम्पन्न मानव अधिकार संरक्षण र सम्बर्द्धनका लागि राज्यको जबाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धिसम्बन्धी परियोजनाको परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रममा बोल्दै उपाध्यक्ष मर्दनियाले सो कुरा बताएका हुन् ।

मानव अधिकार शिक्षा कार्यक्रममार्फत् नगरपालिका भित्रका विपन्न, गरिब, दलित, आदिवासी, जनजातीहरूलाई अधिकारबारे जानकार बनाउन सहयोग पुग्ने विश्वास लिएको भन्दै उपप्रमुख मर्दनियाले आगामी दिनमा मानव अधिकार शिक्षासम्बन्धी कार्यक्रम सञ्चालनमा सहयोग गर्ने बताए ।

उपप्रमुख मर्दनियाले मानव विकास नभई भौतिक विकासको कुनै अर्थ नहुने भन्दै मानव विकासको लागि मानव अधिकारको प्रत्याभूति पहिलो शर्त भएको बताए ।

सोही कार्यक्रममा कावासोती नपा–१० का वडा अध्यक्ष टेकनारायण महतोले ग्रामिण क्षेत्रका बस्तीमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको समस्या रहेको भन्दै त्यसको समाधानको लागि सबै सरोकारवाला एकजुट हुन आवश्यक रहेको बताए ।

नेपाल रेडक्रस सोसाइटी, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला शाखाका अध्यक्ष मदनभक्त अधिकारीले इन्सेकले मानव अधिकार रक्षा र त्यसको कार्यान्वयनमा गरेको योगदानको स्मरण गर्दै राजनीतिक परिवर्तन र समाजिक परिवेश अनुसार मानव अधिकारको क्षेत्र र सवाल परिवर्तन हुँदै जाने र मानव अधिकार प्रत्याभूति गर्नु राज्यको दायित्व भएको बताए ।

नेपाल पत्रकार महासङ्घ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का अध्यक्ष होमराज रानाभाटले इन्सेकले अब स्थानीय स्तरका सवालमा केन्द्रीत हुनुपर्ने सुझाव दिए ।

इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखराका संयोजक शिव खकुरेलले तीन वर्षसम्म सञ्चालन हुने परियोजनाको सफल कार्यान्वयनको लागि स्थानीय सरकार, जनप्रतिनिधि र सरकोकारवाला सबैको सहयोग आवश्यक पर्ने भन्दै सबैसँगको सहकार्यमा इन्सेक अगाडि बढ्ने बताए ।

कार्यक्रमले द्रौपदी गुरौको संयोजत्वमा १३ सदस्यीय मानव अधिकार समूह गठन गरेको छ । समूहका सदस्यहरूमा भूपति भट्टराई, केशमाया कुँवर, इश्वरी भुसाल ढकाल, यमकुमारी पुन, राधा शर्मा, पवित्रा पौडेल, सागर महतो, दिपक शर्मा, कविता पौडेल, लालप्रसाद बस्ताकोटी, दयाराम आचार्य र किरण भूर्तेल रहेको इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखराकी कार्यक्रम संयोजक सवनम शर्माले जानकारी दिइन् ।

तिर्थराज डुम्रे