मानव अधिकारका सवालमा सञ्चारकर्मीसँग समन्वय बैठक सम्पन्न

  ०७६ मङ्सिर १९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकारका सवालमा सञ्चारकर्मीहरूसँग मङ्सिर १९ गते धनगढीमा समन्वय बैठक सम्पन्न गरिएको छ ।

समन्वय बैठकमा इन्सेक सुदूरपश्चिम प्रदेश, धनगढीका संयोजक खड्क राज जोशीले सुदूरपश्चिम प्रदेशको मानव अधिकारको अवस्थाका बारेमा जानकरी गराउनु भएको थियो ।

उहाँले सन् २०१९ जनवरीदेखि नोभेम्बर महिनासम्म राज्य र अन्य पक्षबाट ६ सय ५४ ओटा मानव अधिकार उल्लङ्घनका घटना भएको बताउँदै महिला अधिकार उल्लङ्घनका घटनामा कमी नआएको बताउनु भयो ।

इन्सेकको अभिलेखका आधारमा सन् २०१९ जनवरीदेखि नोभेम्बरसम्म नागरिक तथा राजनीतिक अधिकार उल्लङ्घनका ५८ ओटा, आर्थिक, समाजिक तथा सांस्कृतिक अधिकार उल्लङ्घनका ३९ ओटा, महिला अधिकार उल्लङ्घनका ४ सय ५२ ओटा, जातीय विभेदका नौ ओटा, बाल अधिकार उल्लङ्घनका ९४ ओटा र यातनाका दुई ओटा घटनामा ६ सय ६० जना पीडित भएका घटनाका सम्बन्धमा समन्वय बैठकमा संक्षिप्तमा प्रस्तुत गरिएको थियो ।

पत्रकार प्रेम चौधरीले अहिले पनि मानव अधिकार उल्लङ्घनका घटनाहरू बढ्दै गएका र पीडितहरूले न्याय पाउन नसकेको बताउनु भयो ।

पत्रकार भानुभक्त आचार्यले सरकारी तथा गैरसरकारी क्षेत्रबाट महिला अधिकारको क्षेत्रका विभिन्न अभियानहरू सञ्चालन गरिएका भए पनि भर्खरै मात्र अछाम जिल्लामा एक जना महिलाको छाउपडी गोठमा मुत्यु हुनुले सरोकारवाला पक्षलाई प्रश्नचिन्ह खडा भएको बताउनु भयो ।

पत्रकार उन्नती चौधरीले सामूहिक बलात्कार गरी हत्या गरिएकी कैलालीकी राधा बिकका परिवारले घटना भएको एक वर्ष बितिसक्दा पनि न्याय नपाएको बताउँदै यस्ता मुद्दामा तत्काल फैसला गर्न नागरिक समाजले सरोकारवालाको ध्यानाकर्षण गराउनुपर्ने बताउनुभयो ।

photo20191205kailali (1)

photo20191205kailali (2)

photo20191205kailali (3)

मैनामती चौधरी