मानव अधिकारकर्मी र सञ्चारकर्मीहरूबिच सहकार्यको आवश्यक्ता

  ०७६ पुस १४ गते

मानव अधिकारकर्मी र सञ्चारकर्मीहरूबिच सहकार्यको आवश्यक्ता रहेको कार्यक्रमका सहभागीहरूले धारणा राखेका छन ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय २ जनकपुरधामले सिरहामा पुस १४ गते आयोजना गरेको मिडिया साझेदारी बैठकमा सहभागीहरूले धारणा व्यक्त गरेका हुन् ।

मानव अधिकार रक्षकहरूको अधिकार, सुरक्षा र चुनौतिको सामना गर्न अधिकारकर्मी र सञ्चारकर्मीहरू एक थलोमा आउन आवश्यक रहेको प्रदेश संयोजक राजु पासवानले बताउनु भयो ।

अधिकारकर्मी र सञ्चारकर्मीहरूले जहिले पनि पीडितको अधिकारको लागि आवाज उठाउदा आफै असुरक्षामा पर्ने भएकोले पनि सामूहिक रूपमा आवाज उठाउँदा जोखिम न्यूनीकरण हुन सक्ने पासवानले बताउनु भयो ।

१० वर्ष अगाडिको सुरक्षा चुनौती र अहिलेको अवस्थामा फरक रहेको पत्रकार महासङ्घ सिरहाका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ताले बताउनु भयो ।

पहिला सञ्चारकर्मी र अधिकारकर्मीहरूको सङ्ख्यामा कमी भएको कारण चुनौती रहेपनि अहिले उनीहरूको सङ्ख्या बढेकोले चुनौती कम रहेको अध्यक्ष गुप्ताले बताउनु भयो ।

मानव अधिकारको विषयमा सङ्घसंस्थाहरूले सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धिमा पनि जोड दिनु पर्ने उहाँले बताउनु भयो ।

पीडितहरूको न्यायको लागि आवाज उठाउँदा धम्की आउने, समाचार नलेख भन्ने, किन लेखेको भन्ने व्यवहारहरू सञ्चारकर्मीहरूले भोग्दै आएको सहभागी सञ्चारकर्मीहरूले बताए ।

मानव अधिकारको संरक्षण र सम्बर्द्धन  गर्दा मानव अधिकार कर्मी र पत्रकारहरूले एकजुट भएर आवाज उठाउदा पीडक पक्षलाई दबाब पुग्ने र पीडितको सवालहरू बाहिर आउने हुँदा समन्वय र सहकार्यको आवश्यक्ता रहेको सहभागी अधिकारकर्मीहरूले बताए ।

दुर्गा परियार