मानवीय विकासको आवश्यकता छः सांसद कोइराला

  ०७६ मङ्सिर २१ गते

गण्डकी प्रदेश सभा सांसद प्रभा कोइरालाले भौतिक विकाससँगै मानवीय विकास अबको आवश्यकता भएको बताउनु भएको छ ।

 

इन्सेक गण्डकी प्रदेश कार्यलयको आयोजनामा पोखरामा गरिएको परियोजना परिचयात्मक कार्यक्रम तथा मानव अधिकार समूह गठन कार्यक्रममा बोल्दै सांसद कोइरालाले मानवीय विकासका लागि सरकार भन्दा बढी नागरिक संवेदनशील र सचेत बन्नुपर्ने धारणा राख्नुभयो ।

 

मानव अधिकारका कुरा गरिरहँदा अधिकार र कर्तव्य दुवैलाई समान रुपमा अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

 

पोखरा महानगरपालिका कार्यपालिका सदस्य पुष्पा घले पहारीले मानव अधिकार समूहले सबैमा अधिकार र कर्तव्यका बारेमा चेतना बाढ्नुपर्ने बताउनुभयो ।

 

राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश निर्देशक दिपकजंगध्वज कार्कीले उपलब्ध स्रोत साधनको अधिकतम उपभोग गर्न सकिएन भने आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्राप्त गर्न नसकिने बताउनुभयो ।

 

आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारलाई कार्यन्वयन गर्नका लागि राज्यले तथ्यांक संकलन गरी कार्यक्रम र नीति तयार गर्नुपर्नेमा उहाँको जोड रहेको छ ।

 

उहाँले मानव अधिकार आयोग मानव अधिकार समूहसँग समन्वय र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक विष्णु बरालले राज्य समाजको तल्लो तहमा रहेका वर्गको पक्षमा हुनुपर्ने बताउनु भयो ।

 

‘समाजको तल्लो वर्गलाई लक्षित नगरिकन पहुँचका आधारमा ल्याइने नीति र योजनाले परिर्वतन सम्भव छैन ।’–उहाँले भन्नुभयो ।

 

बरालले स्थानीय तह र प्रदेश सरकारले नीति तथा योजना तय गर्ने विषयमा नागरिक समाजसँग समन्वय नगरेको गुनासो गर्नुभयो ।

 

गैरसरकारी संस्था महासंघ गण्डकी प्रदेश उपाध्यक्ष गोपाल खड्काले मूल्यांकन हुन सक्ने गरी काम गर्न मानव अधिकार समूहलाई आग्रह गर्नुभयो ।

 

परियोजनामा मात्रै रहेर काम गर्ने नभइ समग्र मानव अधिकारका विषयमा समूहले काम गर्न सके सकारात्मक परिर्वतन आउने उहाँको भनाइ थियो ।

 

पोखरा महानगरपालिका स्वास्थ्य शाखा प्रमुख गुरुदत्त शर्माले सेवा प्रवाह गर्दा भएका त्रुटिहरु मानव अधिकार समूहले अनुगमन गरी सुझाव र प्रतिक्रिया दिन आग्रह गर्नुभयो ।

 

‘हामीलाई थाहा भए नभएका कुराहरु यो गर्दा वा नगर्दा मानव अधिकारको रक्षा र हनन् हुन्छ भनेर यहाँहरुले सुझाव दिनुपर्छ ।’–उहाँले भन्नुभयो–‘तपाईहरुले दिएका सुझावका कारण हामीलाई पनि योजना बनाउन सजिलो हुन्छ ।’

 

इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले नागरिक तथा राजनीतिक अधिकारलाई बलियो बनाउन आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको भुमिका महत्वपूर्ण रहने बताउनुभयो ।

 

कार्यक्रम सञ्चालन भएका देशभरका ७० ओटा स्थानीय तहबाट समग्र मुलुकलाई सकारात्मक प्रभाव पार्ने हिसाबले आफ्ना कामहरुलाई अगाडि बढाउने उहाँले बताउनुभयो ।

 

कार्यक्रमबाट श्यामनाथ कुँवरको संयोजकत्वमा मानव अधिकार समूह गठन गरिएको छ । समूहको सदस्यमा इन्दिरा पौडेल, मदन थापा, निर्मला अर्याल, रमेश सुवेदी, शंकर नेपाली, गुन्जन प्यासी, बिना लोहनी, सिर्जना लामिछाने, तारामाया थापा र ढाकाराम पौडेल रहनुभएको छ ।

 

संयोजक श्यामनाथ कुँवले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका सवाललाई सामूहिक रुपमा प्रभावकारी ढंगबाट अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

photo20191207kaski (1)

photo20191207kaski (2)

photo20191207kaski (3)

photo20191207kaski (4)

photo20191207kaski (5)

सुशन घिमिरे