महिला हिंसाविरुद्ध १६ दिने अभियान कार्यक्रम सम्पन्न

  ०७७ मङ्सिर २० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र फेदिखोला गाउँपालिका–३ प्रगतिशील बचत तथा ऋण सहकारी संस्था

भाटखोलाको संयुक्त आयोजनामा मङ्सिर १८ गते महिला हिंसाविरुद्ध १६ दिने अभियान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा फेदिखोला गाउँपालिकाका उपाध्यक्ष  देवी थापाले घरेलु हिंसा कसुर  सजाय ऐन २०६६ र फेदिखोला गाउँपालिकाको लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधिका बारेमा उपस्थित सहभागीहरुलाई जानकारी दिनुभएको थियो ।

गाउँपालिकाले सञ्चालन गरेको कोषबाट हिंसामा परेकी महिलालाई सहयोग गरिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘हिंसा पीडितले निवेदन वा सहयोगको सिफारिस ल्याउनुभयो भने उहाँलाई परामर्श वा केही गर्नको लागि २० हजार रुपियाँ बराबरको सहयोग पनि गर्ने गरिएको छ ।’

photo20201206Syangja1

कार्यक्रममा फेदिखोला गाउँपालिकाको मानव अधिकार निगरानी समुहकी सदस्य गीता शर्माले पनि लैङ्गिक हिंसा न्यूनीकरण र महिला सशक्तिकरणका लागि उद्यमशिलता आवश्यक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो –‘ हिंसा न्यूनीकरण गर्न, महिला सशक्तिकरण र सशक्तिकरणको लागि उद्यमशिलता आवश्यक छ ।’

कार्यक्रमको समापनमा बोल्दै फेदिखोला गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष कृष्णबहादुर रानाभाटले हिंसा न्यूनीकरणका लागि सबैलाई सचेत हुनुपर्ने कुरा बताउनुभयो ।

कार्यक्रममा २७ जनाको सहभागिता रहेको थियो ।

photo20201206syangja2

 

 

तिलकुमारी थापा