महिला तथा बालबालिकामाथि हुने हिंसा बढ्दो

  ०७६ पुस ९ गते

दार्चुला जिल्लामा महिला तथा बालबालिकामाथि हुने हिंसा बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक),दार्चुलाको आयोजनामा पुस ८ गते आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पुर्व समीक्षा कार्यक्रममा प्रस्तृत प्रतिवेदनमा महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनामा वृद्धि भएको देखाइएको हो ।

सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्म भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना सार्वजनिक गर्दै दार्चुलामा महिला तथा बालबालिका असुरक्षित रहेको इन्सेकले जनाएको हो ।

इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिंह कार्कीले एक वर्षको अवधिमा महिलामाथि बलात्कार र बलात्कारको प्रयासका ११ ओटा, घरेलु हिंसा र महिला हिंसाका ७७ ओटा र  बहुविवाहको एउटा घटना इन्सेकले अभिलेख गरेको बताउनु भयो ।

जिल्लामा बालविवाहको समस्या पनि जटील बन्दै गएको इन्सेकका प्रतिनिधि कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नु भयो –जिल्लामा बालविवाह जटील समस्याको रूपमा देखिएको छ । पछिल्लो समयमा भागेर जाने प्रवृति पनि बढ्दै गएको छ । यसले गर्दा बालविवाह न्यूनीकरणमा चुनौती थपिएको छ ।

जिल्ला न्यायाधिश गिरीराज गौतमले महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि विभिन्न प्रयास भइरहे पनि हिंसामा अझै कमी आउन नसकेको बताउदै यसका लागि सबै पक्षहरू जिम्मेवार भएर लाग्नु पर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो–‘जिल्लामा छाउपडीको माध्यमबाट होस् वा बलात्कार, हत्या जस्ता घटनामा होस महिला तथा बालबालिका पर्ने गरेका छन् । जुन जिल्लाको लागि गम्भीर विषय हो । स्थानीय तहमा गरिएका न्यायिक सम्पादनको अवस्थालाई पनि इन्सेकको प्रतिवदेनले समेट्नु पर्छ ।’

महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि हामी सबै स्थानीय सरकारहरूले पनि पहल गर्नुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले भन्नुभयो, सबै क्षेत्र मिलेर न्यूनिकरणको लागि पैरवी गर्नुपर्छ । उहाँले मानव अधिकारको रक्षा प्रवर्धन गर्न तयार रहेको भन्दै कमी कमजोरीलाई सच्याएर अधिकार प्रवर्धन गर्नु पर्ने बताउनु भयो ।

जिल्ला अदालत दार्चुलाका श्रेस्तेदार किरन सिंहले विगतको तुलनामा मानव अधिकारमा सम्मान भएको भन्दै महिला तथा बालबालिकामाथि भएका घटनाहरूमा कमी ल्याउन जनचेतना आवश्यक भएको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका डिएसपी दिपेन्द्रबहादुर शाहीले अहिले पनि स्थानीय तहका न्यायिक समिति भन्दा पनि प्रहरी कहाँ महिला हिंसाका घट्नाहरू बढी आउने गरेको बताउँदै आफूहरू मानव अधिकारको रक्षा र प्रवर्धन गर्नेमा प्रतिबद्ध रहेको बताउनु भयो ।

पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीले जिल्लामा एक वर्षको अवधिमा इन्सेकले गर्ने गरेको दस्तावेजीकरण आफैँमा राम्रो भएको बताउदै वर्ष पुस्तकमा हरेक स्थानीय तहले गरेका न्यायिक सम्पादन, सवारी दुर्घटना तथा स्थानीय सरकारमार्फत भएका राम्रा कुराहरूसमेत उल्लेख गर्नु पर्ने सुझाव दिनु भएको थियो ।

photo20191224darchula1 (1)

photo20191224darchula1 (2)

photo20191224darchula1 (3)

photo20191224darchula1 (4)

photo20191224darchula1 (5)

photo20191224darchula1 (6)

नरेन्द्रसिंह कार्की