मन्थलीमा शिक्षा, स्वास्थ्य र खाद्यसँग सम्बन्धित सरोकारवालाबिच अन्तरक्रिया

  ०७४ पुस ११ गते

रामेछापको सदरमुकाम मन्थलीमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम पुस ११ गते सम्पन्न भएको छ । कियोसको आर्थिक सहयोग तथा मानव अधिकार संरक्षण सञ्जाल रामेछापसँगको समन्वयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सो कार्यक्रमको आयोजना गरेको हो ।

Photo20171226Ramechhap

कार्यक्रममा मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले आगामी दिनमा नगरपालिकाले शिक्षा, स्वास्थ्य र खाद्यका क्षेत्रमा गुरू योजना बनाएर काम गर्ने बताए ।

उनले अहिले स्थानीय तहको पहिलो वर्षभएकाले केही अप्ठेराहरू रहेपनि आगामी वर्षबाट सबै समस्याको समाधान गरी अगाडि बढ्ने बताए । उनले मन्थली देवकोटा चोकबाट मालपोत कार्यालय भएर जिल्ला प्रहरी कार्यालय हुँदै बसपार्कमा निस्कने सडक पिचको कामका समस्या भएको बताए । ९२ लाखको ठेक्का लागेको सो बाटो समयमा पिच नगरेपछि अहिले अन्तिम समयमा दबाव दिएर काम लगाई रहेको बताए । समयमा नै सडक नबन्दा स्थानीयको स्वास्थ्यमा गम्भीर असर परेको उनको भनाई छ ।

Photo20171226Ramechhap1

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक केशव फुयालले जिल्लामा केही औषधिको अभाव भएपनि मिडियामा आए जस्तो भने नभएको बताए । स्थानीय तहले आवश्यकता अनुसारको बजेट समयमा नै विनियोजन नगरेकोले औषधि खरिदमा ढिलाई भएको उनले बताए । उनले रामेछाप नगरपालिका र दोरम्बा गाउँपालिकाले अहिलेसम्म पनि औषधीका लागि बजेट नै विनियोजन नगरेको बताए ।

जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. नारायणप्रसाद शर्माले पशुसम्बन्धी कार्यक्रममा स्थानीय तह गम्भीर नभएको आरोप लगाए । उनले जिल्लाको एक नगरपालिका र पाँच गाउँपालिकाले थोरै भएपनि पशु विकास कार्यक्रममा बजेट विनियोजन गरेको भएपनि रामेछाप नगरपालिका र दोरम्बा गाउँपालिकाले भने बजेट नै विनियोजन नगरेको बताए । जिल्लामा कर्मचारीको अभावका कारण पशुका क्षेत्रमा सोचे अनुरूप काम नभएको उनको भनाई छ ।

जिल्ला कृषि विकास कार्यालय रामेछापका वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्रकुमार मल्लले रामेछापको कृषि क्षेत्रमा विकास नहुनुको मुख्य कारण सिञ्चाईको असुविधा रहेको बताए । रामेछाप जिल्ला सुख्खाग्रस्त रहेकाले कृषि क्षेत्रमा समस्या भएको उनको भनाई छ ।

जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत मुकुन्दकेशरी पोखरेलले शिक्षा क्षेत्रको सुधार गर्नका लागि स्थानीय तह कडा ढङ्गबाट प्रस्तुत हुनुपर्ने बताए । उनले जिल्ला शिक्षा कार्यालयलाई अटेर गर्ने शिक्षकहरूलाई स्थानीय तहले ठिक ठाँउमा ल्याउन सके मात्र पढाईको गुणस्तर बढ्ने बताए ।

नवराज पथिक