भौतिक दूरी कार्यान्वयन गर्दै बजार तथा सेवा व्यवस्थित गर्न नागरिक समाजको आग्रह

  ०७७ असार ११ गते

रामेछापको नागरिक समाजले बजार तथा सेवा प्रदायक क्षेत्रमा भौतिक दूरी कायम गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन आग्रह गरेको छ  । नागरिक समाज र पत्रकारबीच ०७७ असार ११ गते भएको भिडियो कन्फेरेन्समा सरोकारवालालाई सो विषयमा ध्यानाकर्षण गराउने निर्णय भएकोphotoramechap20200625 हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेककको समन्वय तथा मानवअधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा भएको कन्फेरेन्समा मन्थली बजारमा भौतिक दूरी कायम गरी व्यापार व्यवसाय गर्ने तथा हरेक पसलको बाहिर सेनिटाइजर, हातधुने साबुन पानीको व्यवस्था गर्ने गरी जिल्ला विपत व्यवस्थापन केन्द्रमा निर्णय भएको भए पनि व्यवसायीले त्यसको पालना नगरेको सहभागीले बताए ।

मानअधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँले स्वास्थ्य संस्थामा जाने बिरामी प्रति केही स्वास्थ्यकर्मीले रुखो व्यवहार गरेको प्रति पनि ध्यानाकर्षण भएको बताउनु भयो । उहाँले स्वास्थ्य संस्थामा न्युनतम मापदण्ड पुरा गरी सेवाग्राहीलाई गर्ने व्यवहार मैत्रीपूर्ण हुनुपर्ने बताउनु भायो ।

यसैगरी पत्रकार नवराज श्रेष्ठले क्वारेण्टाइनको गुणस्तर सुधारमा अझ ध्यान दिनुपर्ने बताउनु भयो । यस अघि भएको अनुगमनमा क्वारेण्टाइनको गुणस्तरमा सुधार गर्न स्थानीय तहलाई प्रमुख जिल्ला अधिकारीले सुझाव दिए पनि अझै व्यवस्थित हुन नसकेको उहाँको धारणा थियो ।

बैठकमा विपदको समयमा नागरिक समाजको भूमिकालाई अझ प्रभावकारी बनाउने निर्णय समेत भएको छ । भिडियो कन्फेरेन्समा उपलब्ध नभएका नागरिक अगुवा तथा सञ्जाल सदस्यले टेलिफोनबाट पनि सुझाव प्रदान गरेका थिए ।

नवराज घिमिरे