भूमिहीनहरूको समस्या समाधान गर्ने प्रतिबद्धता

  ०७७ माघ २६ गते

लेकवेशी नगरपालिकाका प्रमुख गगनसिं सुनारले लेकवेशीनपामा रहेका भूमिहिन सुकुम्वासीहरूले भोग्दै आएको समस्या समाधानगर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले माघ २३ गते लेकवेशी नपामा आयोजना गरेको आवासको अधिकार र सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख सुनारले यस्तो प्रतिबद्धता जनाउनु भएको हो ।

लेकवेशी नपामा रहेका भूमिहिन सुकुम्वासीहरूले भोग्नु परेको समस्या समाधान गर्न नगरपालिकाले तत्काल लगत संकलन गरी उनीहरूलाई उचित बसोबासको व्यवस्था मिलाउने प्रमुख सुनारको भनाई थियो ।

नगरपालिकामा अधिकाँश दलित समुदाय सुकुम्वासी रहेको चर्चा गर्दै उनीहरूको उचित व्यवस्थापनका लागि आवश्यक रणनीति तयार गरिने पनि प्रमुख सुनारले जानकारी दिनुभयो ।

लेकवेशी नपा मानव अधिकार समूहका सदस्य होमबहादुर नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्सेक कर्णाली प्रदेश कार्यालयका फोकल पर्सन दिलबहादुर चौधरी, लेकवेशी नपा आवास कार्यक्रमका फोकल पर्सन नारायण तिवारी र लेकवेशी– ७ का सदस्य पृथ्वीबहादुर विसी लगायतले भनाई राख्नु भएको थियो ।

इन्सेक सहजकर्ता बिन्दुलाल रेग्मीले सहजकिरण गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, नागरिक संस्थाका प्रतिनिधि, वडा सचिवहरू र स्थानीय भूमिहीनहरूको सहभागिता रहेको थियो ।

दुर्गा थापा