भूकम्प पीडितहरूको माग-'सहजरूपमा प्राविधिक सहयोग पाउँ'

  ०७४ पुस ७ गते

भूकम्प पीडितहरूले आवास पुनर्निर्माणको गतिलाई अगाडि बढाउन नसकिरहेको अवस्थामा सहजरूपमा प्राविधिक सहयोग पाउन माग गरेका छन् ।

इन्सेक सिन्धुपाल्चोकद्वारा जुगल गाउँपालिकास्थित कात्तिके बजारमा पुस ७ गते सञ्चालन भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा भूकम्प पीडितहरूले सो कुरा बताएका हुन् ।

कार्यक्रममा गोल्चेका विष्णुलाल तामाङले आफ्नो गाउँ लिदिमा हालसम्म पुनर्निर्माण प्राधिकरणबाट खटिएका प्राविधिक भदौमा एक पटक मात्र आएकाले घर पुनर्निर्माण कसरी गर्ने भन्ने कुरामा स्थानीयहरू अलपत्र परेको बताए ।

पाङताङका रामबहादुर गुवाजुले भदौमा दोस्रो किस्ता माग गरेको भएपनि हालसम्म दोस्रो किस्ताको रकम प्राप्त हुन नसकेको गुनासो सुनाए ।

स्थानीय शिक्षक भरत सिल्वालले भूकम्परहित घरहरू कस्तो हुन्छ ? कसरी निर्माण हुन्छ ? के के कुरा सामग्री प्रयोग गर्ने हो भन्ने कुरा प्राबिधिकले भन्न नआएकाले घर पुनःनिर्माणमा समस्या भएको बताए  ।

पुनर्निर्माण प्राधिकरणद्वारा जुगल गाउँपालिका-४ मा खटिएका इञ्जिनियर सागर ढकालले प्राविधिकहरूको कमीले गर्दा सबै घरहरूमा सधैँ पुग्न कठिन भएको बताए ।

कार्यक्रममा जुगल गाउँपालिकाका अध्यक्ष होम नारायणले जुगल गाउँपालिका वडा नं. ६ मा हालसम्म प्राविधिक पुग्न नसकेको र वडा नं. २ र ३ मा सव इञ्जिनियरको भर पर्नु परेको गुनासो गरे । जिल्लाको सबैभन्दा विकट र ठुलो भूगोल भएकाले पनि प्राविधिकहरू जान नचाहेको अध्यक्षको भनाई छ ।

नतिबावु धिताल