भूकम्प पीडितहरूको पुनर्स्थापना र अवस्थाबारे सार्वजनिक सुनुवाइ

  ०७३ चैत २ गते

भूकम्प पीडितहरूको पुनर्स्थापना र अवस्थाका बारेमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरले हेटौँडामा चैत २ गते सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।

Photo20170315Makwanpur

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका योजना अधिकृत किसान न्यौपानले मकवानपुरका भूकम्प पीडितहरूले अहिलेसम्म दोस्रो किस्ता रकम पाउन नसकेको जानकारी गराएका छन् । दोस्रो किस्ताका लागि भवन प्रविधि तथा अनुसन्धान तालिम केन्द्रले ५३ जना लाभग्राहीको नाम सिफारिस पठाएको उनले बताए । "सिफारिस पठाएका लाभग्राहीहरूले छिटै दोस्रो किस्ताको अनुदान रकम पाउने छन् ।"-उनले भने ।

Photo20170315Makwanpur1

मकवानपुरमा भूकम्प पीडित ३० हजार २ सय ३८ परिवार रहेका छन् । तीमध्ये २० हजार २७ लाभग्राहीसँग अनुदान सम्झौता भएको र तीमध्ये १९ हजार १९ जना लाभग्राहीले पहिलो किस्ता अनुदान रकम लगेको जिल्ला समन्वय समिति मकवानपुरका योजना अधिकृत न्यौपानेले जानकारी दिए ।

"ऐलानी जग्गामा बसोवास गरेका करिब १० हजार भूकम्प पीडितसँग अनुदान सम्झौता हुन सकेको छैन । नापि भएको तर लालपूर्जा नपाएकाको हकमा भने अनुदान सम्झौता गर्न सकिने कार्यविधि बनेको छ । नापि नभएकाहरूको हकमा भने अझै समस्या रहेको छ ।"-उनले भने ।

गैरसरकारी संस्था मकवानपुरका अध्यक्ष कृष्ण धितालले भूकम्प पीडितहरूको पुनर्निर्माण कार्य अत्यन्त सुस्तगतिमा भएको आरोप लगाए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण नै अलमलमा भएकाले पुनर्निर्माण कार्य अघि बढ्न नसकेको उनको तर्क थियो ।

कार्यक्रममा बसामाडीकी भूकम्प पीडित सुनिता पराजुली, विमला स्याङतान, मीरा लामालगायतले भूकम्प पीडितहरूले पहिलो किस्ताको रकम पाएपनि तत्काल दोश्रो किस्ताको रकम नपाएका कारण घर निर्माण कार्य सम्पन्न गर्न समस्या परेको बताएका थिए ।

प्रताप विष्ट