भूकम्प पीडितको राहत तथा पुनर्निर्माण विषयक सार्वजनिक सुनुवाइ सम्पन्न

  ०७४ चैत १७ गते

भूकम्प पीडितको राहत तथा पुनर्निर्माणको सवाल विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम चैत १७ गते गोदावरी नपा-१३, झरुवाराशीमा सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार सञ्जाल ललितपुरको संयुक्त आयोजना तथा गोदावरी नपा-१३ वडा कार्यालयको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले भएको क्षतिमा पीडितले पाएको राहत र पुनर्निर्माणका सवालमा सो कार्यक्रम केन्द्रीत थियो ।

कार्यक्रममा सहभागी भूकम्प प्रभावितहरूले सरकारबाट पाएको राहत तथा अनुदान सहयोगमा देखिएका समस्याका बारेमा गुनासो राखेका थिए ।

गोदावरी नपा-१३ का भूकम्पपीडित शम्भु दाहालले पहिलो किस्ता पाएको र दास्रो किस्ता हालसम्म नपाएको बताए ।

नारायण केसीले पुनर्निर्माण प्राधिकरणबाट पटकपटक कर्मचारी आएर फोटो लिएर जाने तर भूकम्प गएको चार वर्षबित्न लाग्दा पनि भूकम्पपीडित भनेर कुनै नाम र सङकेत नआएको गुनासो गरे ।

भूकम्पप्रभावित पुनमा कार्कीले भूकम्प गएको बेला खानेपानीको समस्या भएको र मर्मतका लागि ५ लाख रुपियाँ दिन्छु भनि प्राधिकरणले आश्वासन दिएपनि हालसम्म कुनै रकम नपाएको गुनासो व्यक्त गरिन् ।

इन्सेक काठमाडौँ कार्यालयका संयोजक कृष्ण गौतमले आफ्नो वडामा भएको समस्याहरूलाई समाधान गर्नका लागि स्थानीयतहको माध्यमबाट नै समाधान खोजिनु पर्ने बताए । उनले भूकम्पको बेलमा वडामा भएका भौतिक तथा मानवीय क्षतिको अनुगमन गरी समस्याको समाधानलाई स्थानीय तहले महत्वपूर्ण योजनामा राखी भूकम्प पीडितका समस्याको समाधान गर्नुपर्ने बताए ।

गोदावरी नगरपालिका-१३ का वडा अध्यक्ष भाष्कर थापाले आफ्नो वडामा भएका भूकम्पप्रभावितको समस्या समाधानका लागि आफ्नो तर्फबाट कुनै पनि काम अधुरो नराख्ने प्रतिबद्धता व्यक्त गरे । उनले वडामा भएको शिक्षा, स्वास्थ्य तथा विकास निर्माणका लागि वडाबासीहरू सक्रिय भएर लाग्नु पर्ने र आफूले खेल्नु पर्ने भूमिकाका लागि कुनै कसर बाँकी नराख्ने बताए ।

केशबराज भट्ट