भूकम्प पीडितको गुनासो सम्बोधन गर्न तत्काल पहल गर्ने प्रतिबद्धता

  ०७५ मङ्सिर ३ गते

भूकम्प पीडितहरूले समयमा अनुदान नपाएको, पहिलो किस्ता अनुदान लिएपनि दोस्रो किस्ता लिन झञ्झट व्यहोर्नु परेकोप्रति सरोकारवालाल पीडासमन गर्दै तत्काल सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

ललितपुर महानगरपालिका-२४ धापाखेलमा मङ्सिर २ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार सञ्जाल ललितपुर र ललितपुर महानगरपालिका-२४ को संयुक्त आयोजनामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा भूकम्प पीडितहरूले अझै अनुदान नपाएको गुनासो तत्काल सम्बोधन गर्न सरोकारवालाहरूले विशेष पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।

Photo20181119Lalitpur (1)

ललितपुर महानगरपालिका-२४ धापाखेलका वडा अध्यक्ष दिनेश कार्कीले गूठी भित्र बसोबास गर्ने भूकम्प पीडित, सगोलमै बसोबास गर्ने परिवार र गुनासो गर्दा पनि लाभग्राहीको सूचीमा नाम ननिस्किएका पीडितहरूका विषयमा सरोकारवाला पक्षसँग तत्कालै छलफल गरी पीडितहरूको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

Photo20181119Lalitpur (2)

गूठी संस्थान ललितपुर शाखाका प्रमुख शैलेन्द्र पौडेलले ललितपुर महानगरपालिका भित्र गूठीका जग्गामा घर बनाउनका लागि समस्यामा परेका भूकम्प पीडितहरूलाई नियम अनुसार सहजीकरण र सरलीकरण गरी सेवा प्रदान गर्ने बताए ।

ललितपुर महानगरपालिका सार्वजनिक निर्माण महाशाखाका प्रमुख वरिष्ठ इञ्जिनियर रुद्रप्रसाद अधिकारीले भूकम्प पीडितहरूलाई नक्शापासमा सहजीकरण गरेको स्मरण गर्दै नक्सापास गर्दा लाग्ने कर कम लगाई घर निर्माण गर्दा आएका समस्यालाई निराकरण गर्दै लैजाने बताए ।

Photo20181119Lalitpur (3)

ललितपुर महानगरपालिका विपद् व्यवस्थापन महाशाखाका प्रमुख हरिश्चन्द्र लामिछानेले वास्तविक भूकम्पपीडित अनुदान पाउनबाट नछुटुन् भनेर महानगरपालिकाले पीडितका गुनासाहरू र उजुरी सम्बन्धित निकायमा पठाएको जानकारी दिए ।

पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान तथा व्यवस्थापन, स्थानीय पूर्वाधार अनुगमन तथा मूल्याङ्कन विशेषज्ञ यमनाथ गिरीले प्रक्रिया पुर्‍याएर आएका भूकम्प पीडितहरूलाई राहत दिन पुनर्निर्माण प्राधिकरण तयार रहेको उल्लेख गर्दै स्थानीय तहले अभिलेखिकरण र मुचुल्का गरी सिफारिस गरेमा पीडितहरूले अनुदान पाउने बताए ।

Photo20181119Lalitpur (4)

सार्वजनिक सुनुवाइ कार्यक्रमको अध्यक्षता गरेका मानव अधिकार सञ्जाल ललितपुरका अध्यक्ष वशिष्ठ अधिकारीले जिल्लामा भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी काममा सदाचार अपनाउन र भूकम्प पीडितहरूलाई अनुदान तथा राहतसम्बन्धी कार्य प्रभावकारी बनाउन इन्सेकले विशेष पहल गर्दै आएको बताए ।

नेपाली कांग्रेसका वडा इकाई सभापति देवराज लामिछानेले भूकम्प पीडितहरूलाई राहत तथा अनुदान दिन सरकारी निकाय र सरोकारवाला पक्षले ढिलासुस्ती गरेको आरोप लगाउँदै पीडितहरूको गुनासो सम्बोधन गर्न राज्यले छिटो प्रक्रिया अगाडि बढाउनु पर्नेमा जोड दिए ।

नागदह पर्यटन सहकारीका अध्यक्ष हरिशरण गिरीले जनतालाई आशमा मात्र पारेर राहत र पुनर्निर्माणमा सरकारी निकाय बीचको हान्थाप अन्त्य गर्न सार्वजनिक सुनुवाइ कार्यक्रमले पुलको काम गर्ने बताए ।

Photo20181119Lalitpur (5)

धापाखेल निवासी काजीलाल मालीले पुस्तौँदेखि बसोबास गर्दै आएकाहरूलाई जानकारी नै नदिइ केही व्यक्तिले गूठीको जग्गा नामसारी गरेको टिप्पणी गर्दै वडा कार्यालयले दिएको सिफारिसको पनि सुनुवाइ नभएको प्रति दुखेसो व्यक्त गरे ।

मानव अधिकार रक्षक बद्रिप्रसाद शिवाकोटीले भूकम्प पीडितहरूले समयमै राहत नपाउनुमा सरकार, भूकम्प पीडित र कर्मचारी बीचको तालमेल नमिलेको बताए ।

स्थानीय निर्मला श्रेष्ठले भूकम्प पछि पुनर्निमाण प्राधिकरणका इञ्जिनियरहरूको सल्लाह अनुसार घर बनाए पनि घरको नक्सा पास र अनुदान रकम नपाएको बताइन् ।

स्थानीय राजेश महर्जनले आफ्नो आमा बसन्ती महर्जनको नाममा रहेको घर पूर्णरूपमा ध्वस्त भएको र आफूहरूको अन्यत्र बस्ने ठाउँ नभएको देख्दा देख्दै र तीन पटक सर्वेक्षण भैसक्दा पनि लाभग्राहीको सूचीमा नपरेपछि पुनर्निर्माण प्राधिकरणमा मुद्दा दर्ता गर्न बाध्य भएको बताए ।

दीपकप्रसाद घिमिरे