भूकम्प पीडितका समस्या समाधानमा जनप्रतिनिधिले बेवास्ता गरेको गुनासो

  ०७६ असार ५ गते

कमलामाई नगरपालिका १३ र १४ का भूकम्प पीडितहरूले जनप्रतिनिधिले नै भूकम्प पीडितका समस्या समाधान गर्न कुनै चासो नदेखाएको आरोप लगाएका छन् ।

कमलामाई नगरपालिका–१३ का हरिप्रसाद बरालले पुनःनिर्माणका प्राविधिकहरू भूकम्पको पुनर्निर्माण गर्नुपर्ने घरमा नपुगेको र सो विषयमा वडाध्यक्षहरूले ध्यान नदिएको आरोप लगाएका हुन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जिल्लास्तरीय मानव अधिकार सञ्जाल सिन्धुलीको संयुक्त आयोजनामा असार २ गते कमलामाई नगरपालिका–१३ को रानीबासमा भएको भूकम्पपछिको पुनःनिर्माण सवालको सार्वजनिक सुनवाइमा उनले यस्तो आरोप लगाएका हुन् ।

कार्यक्रमा अर्का भूकम्प पीडित कमलामाई नगरपालिका–१३ का लेखनाथ बरालले प्रवलीकरणका लागि आएको १ लाख रुपियाँ कसरी खर्च गर्ने अन्यौलता भएको बताए । उनले इञ्जिनियरलाई देखाउँदा समेत मर्मत गर्ने घरको निकास ननिस्केको बताए ।

यस्तै कमलामाई नगरपालिका–१४ का रत्नबहादुर कार्कीले नगरपालिकाका पुनर्निर्माणको काम आएपछि पनि भूकम्प पीडितले स्थानीय सरकार भएको अनुभव गर्न नपाएको बताए ।

कार्यक्रममा प्रश्न उठाउने सहभागिहरूले ऐलानी जग्गा भएका कारण समस्या भोगेको, प्रवलीकरणमा भएको अन्यौलता, प्राविधिक निरीक्षण नहुँदै बनेका घरले किस्ता नपाएको, गुनासो सम्बोधन हुन नसकेको, भत्केका घरहरू लाभग्राही सूचीमा नपरेको, एकल महिला ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिले घर बनाउन नसकेको, घर बनेर प्राविधिक सिफारिस भएर पनि लामो समय भुक्तानी नपाएको गुनासो गरेका छन् ।

कार्यक्रममा भूकम्प पीडितहरूको गुनासो सम्बोधन गर्दै कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले वडामा इञ्जिनियरले काम नगरेको वा गरेको निगरानी गर्न वडा अध्यक्षहरूलाई निर्देशन गरेका छन् ।

उनले भूकम्प पीडितलाई ऐलानी जग्गा भएकै कारण घर बनाउन कुनै समस्या नभएको र बनाउन दिइरहेको बताए ।

उनले भूकम्पपीडितको सबै समस्या समाधान गर्न कमलामाई नगरपालिका तत्पर रहेको बताउँदै उनले वडा अध्यक्ष, वडा सचिव र इञ्जिनियरलाई सबै कामको जिम्मा दिएकाले उनीहरूले नै यसको जबाफदेहिता लिनुपर्ने बताउँदै जनताको गुनासो सम्बोधनमा नगरपालिकाले समन्वयमा कुनै कमी नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्तै कमलामाई नगरपालिकी उपमेयर मञ्जु देवकोटाले वास्तविक भूकम्प पीडितको छनौट गर्न, गुनसो सङ्कलन गर्न र छुटेका घरहरूलाई समेट्नका लागि प्राविधिक टोली वडाहरूमा खटिएकाले भूकम्प पीडितहरूलाई धैर्य गर्न आग्रह गरिन् ।

छुटेका व्यक्तिहरूलाई पुनर्निर्माणमा समेट्न नगरपालिकाको तर्फबाट पुनःसर्वेक्षण भइरहेको बताउँदै उनले नागरिकहरूलाई सही तरिकाले काम नगर्ने कर्मचारी, जनप्रतिनिधिहरूलाई समेत खबरदारी गर्न आग्रह गरिन् ।

कार्यक्रममा गुनासो सम्बोधन गर्दै केन्द्रीय आयोजना कार्यान्वयन एकाई (भवन) का अनुगमन तथा मुल्याङ्कन परामर्शकर्ता किरणकुमार महतले प्रवलीकरणका घरहरूको बारेमा कार्यविधि र निर्णय भइनसकेकाले काम नभइसकेकाले प्राविधिकहरू नै अन्यौलमा रहेको बताउँदै तत्काल निकास आउने बताए ।

उनले वडाका इञ्जिनियर, वडाध्यक्ष, वडा सचिवलाई भूकम्पको सबै काम गर्ने अधिकार भएकाले उनीहरूले अन्य निकायसँग पीडितहरूलाई समन्वय गराई काम गराउनुपर्ने बताए ।

यस्तै आवासीय पुनर्निर्माण तथा पुनर्स्थापना समन्वय मञ्चका जिल्ला प्राविधिक संयोजक तुल्सीराम लामिछानेले केही गुनासो सम्बोधन हुन बाँकी रहेकाले गुनासो फस्र्यौट भएपछि केही समस्या हल हुने बताए ।

उनले ऐलानी जग्गाको समस्या पनि छिट्टै समाधान गर्ने गरी काम भइरहेको र वडाबाट सिफारिस भएर आउने काम भइरहेकाले तत्काल निर्णय हुने बताए ।

photo 2019-6-20 Sindhuli (1)

photo 2019-6-20 Sindhuli (2)

बिमला पाण्डे