भूकम्पपीडितको राहत तथा पुनर्निर्माण विषयक सार्वजनिक सुनुवाइ सम्पन्न

  ०७५ असार ११ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना र गोदावरी नगरपालिका ४ नम्बर वडा कार्यालयको समन्वयमा भूकम्प पीडितको राहत तथा पुनर्निर्माण विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम गोदावरी नगरपालिका-४ स्थित बडिखेलमा असार ११ गते सम्पन्न गरिएको छ ।

भूकम्प पीडितको अवस्था र हालसम्म पीडितले पाएको राहत र सरकारी क्षेत्रबाट पीडितका लागि भएको प्रयास तथा राहतका कार्यक्रम बारे उक्त सार्वजनिक सुनुवाइ कार्यक्रममा छलफल भएको थियो ।

इन्सेक कार्यालय काठमाडौँका प्रलेख अधिकृत राजु पासवानले भूकम्प गएको लामो समय भएतापनि भूकम्प पीडितले राहत नपाएको गुनासो आएको हुँदा भूकम्प पीडितको राहत तथा पुनर्स्थापनाका लागि सम्बन्धित निकायको ध्यान जानु पर्ने बताए ।

भूकम्पपीडित र सरोकारवाला निकायलाई एक ठाउँमा राखेर भूकम्पपीडितको समस्या सम्बोधन हुने उद्धेश्यले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको उनले जानकारी दिए ।

गोदावरी नगरपालिका-४ का वडा अध्यक्ष मुकुन्दबहादुर पहरीले वडामा भएका भूकम्प पीडितको राहत तथा पुनर्निर्माणको लागि वडा कार्यालयबाट गर्नैपर्ने कामहरू वडाबासीहरूसँग सहकार्य गर्दै आफ्नो जिम्मेवारी पुरा गरिरहेको र वडामा कतिपय ठाउँमा पीडितको नाम र पाउनुपर्ने राहत लिन छुटेको जानकारी आएको हुँदा त्यस्ता गुनासोलाई सङ्कलन गरी नगरपालिकासम्म पुर्‍याउने बताए ।

वडामा पहिलो किस्ता ३ सय ५२,  दोस्रो किस्ता ६० र तेस्रो किस्ता ३८ जना भूकम्प पीडितले पाएको र दोस्रो किस्ताको लागि ९४ निवेदन परेको उनले बताए ।

वास्तविक भूकम्प पीडितको सबै विवरण सङ्कलन गरी छुटपुट भएकाहरूको नाम सङ्कलन गरिने पनि उनले बताए ।

भूकम्पपीडित समीर पहरीले पीडितहरूका समस्याहरू प्राधिकरण र नगरपालिका कसैले पनि नसुनेको आरोप लगाउँदै आफूलाई पटक पटक प्राधिकरणले दोस्रो किस्ताका लागि आश्वासन मात्र दिने गरेको गुनासो गरे ।

भूकम्प पीडित अम्बिका नेपालीले जग्गा र लालपुर्जा नभएको कारणले सुकुमवासी भएर बाँच्नुपरेको गुनासो गरिन् । धेरै पटक राहतका लागि प्राधिकरण र नगरपालिका जाँदा पनि समस्याको सुनुवाइ नभएको उनले दुःखेसो पोखिन् ।

भूकम्पपीडित पटनी परियारले लालपूर्जा नभएका कारण अनुदान सम्झौत हुन नसकेको र राहत नपाएको गुनासो गरिन् ।

त्यसैगरी भूकम्प पीडित रघुविर मगरले घर बनाउनको लागि जग्गामा बाटो नभएकाले घर बनाउन नपाएको दुःखेसो व्यक्त गर्दै आफूले राहत नपाएको र हालसम्म भाडामा बसेको बताए ।

गोदावरी नगरपालिकाकी इन्जिनियर रुपा महर्जनले भूकम्प पीडितहरूले मापदण्ड अनुसारको नक्सा बनाई घर बनाउनुपर्ने बताइन् । पहिलो किस्ता लिई घर निर्माण कार्य मापदण्ड अनुसार भइरहेको भए मात्र पीडितले दोस्रो किस्ता अनुदान पाउने उनले स्पष्ट पारिन् ।

यदि ठूलो परिवारमा कुनै सदस्यले नक्सा पास गरी राहत लिन चाहेमा त्यो परिवारको आमाबुवाले आफ्नो परिवारको कुनै सदस्यको नाममा सहमति सिफारिस गरेको खण्डमा नक्सा पास गर्न पाउने प्रावधान रहेको उनले जानकारी दिइन् ।

गोदावरी नगरपालिका-४ की वडा सचिव सङ्गीता भूसालले घर बनाउँदा मापदण्ड अनुसार घर निर्माण गर्न भूकम्प पीडितहरूलाई आग्रह गरिन् ।

1

1

1

1

1

1

केशबराज भट्ट