भूकम्पपीडितको गुनासो-'निर्माण सामग्रीको गुणस्तर कसले हेर्ने ?'

  ०७४ फागुन १८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले फागुन १८ गते भीमेश्वर नपा-४ जिलुमा आयोजना गरेको भूकम्पप्रभावितको राहत तथा पुनर्निर्माण विषयक सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीले निर्माण सामग्रीको गुणस्तर कसले हेर्ने भनी गुनासो छन् ।

Photo20180302Dolakha

सार्वजनिक सुनुवाइमा नगर कार्यपालिका सदस्य जमुना श्रेष्ठले भूकम्पप्रभावित आवास निर्माणमा प्रयोग गरिने बालुवामा ३० प्रतिशतसम्म माटो र गिटीमा लोहोरो बेच्नेलाई कसले कारबाही गर्ने भनी प्रश्न गरिन् ।

श्रेष्ठले भनिन्-'सरकरले आवास निर्माण गर्न मिति निर्धारण गर्छ ।' तर, गुणस्तरीय निर्माण सामग्रीको व्यवस्थापन र कामदारको अभाव लगायतले आवास निर्माणमा ढिलाइ रहेको बताइन् । 'जस्ताको छानामुनी बस्नु रहर नभएर बाध्यताले हो । वडा नं. ४ का १० प्रतिशत भूकम्पप्रभावित लाभग्राहीमा छुट भएका छन् । गुनासो फारम भरेको कता हरायो ?'-उनले भनिन् ।

Photo20180302Dolakha1

वडा सदस्य वृषबहादुर बुढाथोकीले भने-'गत वर्ष १४ हजार रुपियाँमा पाइने गिटी, बालुवा यस वर्ष २२ हजार रुपियाँ तिर्नु परेको छ ।' निर्माण सामग्रीको गुणस्तर र मुल्य निर्धारण गर्न अनुगमन समितिको व्यवस्था तत्काल गर्न उनले माग गरे ।

स्थानीय शङ्कर पार्की ढोलीले आवास निर्माणका लागि जोखिममा रहेका लाभग्राहीलाई उपयुक्त घडेरी व्यवस्थापन गर्न माग गरे ।

वडा सदस्य दीलबहादुर श्रेष्ठले पहिला किस्ता पाएका लाभग्राहीले सहकारी र स्थानीय साहुबाट ऋण लिएर घर सम्पन्न गरेको एक वर्ष बित्दासमेत दोश्रो किस्ता नपाएको दुःखेसो पोखे ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा ७३ वर्षीया धनमाया श्रेष्ठले प्राविधिकले घर निरीक्षण गर्दा घरमा नबस्नु जोखिम छ भनेको तर लाभग्राही सूचिमा नाम नै छुटेकोमा दुखेसो पोखिन् ।

उमेश घतानीले घर सर्वेक्षण गर्दा प्रविधिकले टोल नै छुटाएको उल्लेख गर्दै बन्दै गरेका घर निरीक्षण गर्न समयमा प्राविधिक नआउने गरेको गुनासो गरे ।

भिमेश्वर नपा-४ का वडा अध्यक्ष हरिबंश चौलागाइँले निर्माण सामग्रीको गुणस्तर र मुल्यका सम्बन्धमा उद्योगी, व्यापारीहरूसँग बारम्बार छलफल भइरहेको र त्यसलाई अझ प्रभावकारी बनाई अनुगमन गरिने, छुटेका घरधुरी समावेश गर्नका लागि गुनासो फाराम भरी सम्बन्धित निकायमा पठाइएको र त्यसका लागि ताकेता गर्दै गरेको बताए । आवश्यकता अनुसार प्राविधिकलाई अनुगमन र मुल्याङ्कनमा समेत पठाइने प्रतिबद्धता व्यक्त गरे ।

उद्धव पोखरेल