भूकम्पपीडितको अवस्था र पुनर्निर्माण विषयमा र्सार्वजनिक सुनुवाइ (फोटो फिचर)

  ०७३ मङ्सिर २० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित मानव अधिकारमैत्री वातावरणका लागि उत्तरदायित्व प्रवर्धन कार्यक्रम अन्तर्गत मङ्सिर २० गते पाँचखाल नपा-१६ पहरीगाउँमा भूकम्प पीडितको अवस्था र पुनःनिर्माण विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ ।

नगरपालिका कार्यालयबाट वडा सचिव इन्द्रमाया कुँवरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका स्थानीय सभापति किरण श्रेष्ठ, नेकपा एमालेका सत्यनारायण श्रेष्ठ र राप्रपाका राजु थापा मगरले मन्तव्य राखेका थिए ।

कार्यक्रमका सहभागीले पुनर्निर्माण सर्वेक्षण छुटेको, निस्सा नम्बर उल्लेख नभएको, नाम नमिलेको, एकभन्दा बढी घरधनी भएको, त्रुटीपुर्ण विवरण, जग्गाको स्वामित्व नभएको र जग्गा एकभन्दा बढीको स्वामित्वमा रहेको भन्ने गुनासो गरेका छन् । सरकारले बोल्देफेदिलगायतका केही बस्तीलाई सार्नुपर्ने भन्दै गलत रिपोर्ट दिएर सहयोग नगरेको र बस्ती पनि नसारेकोमा सहभागीको आक्रोश छ ।

रेडियो नमोबुद्ध र पलाञ्चोक भगवती महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा गरिएको उक्त कार्यक्रममा सामाजिक संस्थाको तर्फबाट काभ्रे बार एशोसियसनका अध्यक्ष अधिवक्ता कृष्णप्रसाद सापकोटा, गैसस महासङ्घकी सदस्य गंगा दोङ र हर्ड इन्टरनेशनलका जिल्ला संयोजक कमल बन्जारा, प्रहरीका तर्फाट महिला तथा बालवालिका सेवा केन्द्रकी विमला बस्नेत र कालिदेवी प्राविका निमित्त प्रधानाध्यापक कृष्णबहादुर कुँवरले मन्तव्य राखेका थिए ।

सरकारले भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन, कार्यविधि, नियमावली, राष्ट्रिय पुनर्निर्माण तथा पुनर्स्थापना नीति, पुनर्निर्माण कार्यप्रगति विवरण, पुनर्निर्माण र पुनर्स्थापनाको लागि गैरसरकारी संस्था परिचालनसम्बन्धी कार्यविधि, भूकम्पबाट क्षत्तिग्रस्त नीजि आवास पुनर्निर्माण अनुदान सहायताबारे जानकारी पुस्तिका र आवास पुनर्निर्माण अनुदान सम्झौता-पत्र तयार गरेको छ ।

पुनर्निर्माण प्राधिकरणका अनुसार काभ्रेपलाञ्चोक जिल्लामा नाम प्रकाशन भएका लाभग्राहीको सङ्ख्या ६७ हजार ७ सय ११ रहेको छ । जसमा ५९ हजार ९ सय १५ ले सम्झौता गरी ५६ हजारलाई खातामा ५० हजार रुपियाँ पनि पठाइएको प्राधिकरणले जनाएको छ । यस जिल्लामा २० हजार ८ सय ३४ को गुनासो दर्ता भएको छ ।

५ हजारको गुनासो अनलाइनमा इन्ट्री भएको र जिल्ला विकास समितिले ५ सय २३ जनाको गुनासो सम्बोधन गरेको बताइयो । सरकारले २ लाख रुपियाँ नगद र १ लाख बराबरको सोलार तथा गोबर ग्याँसका लागि सहयोग गर्ने भनेको छ । सामूहिक जमानीमा ऋण दिने भनेपनि कार्यविधि नभएका कारण यो विषय अन्योलमा रहेको छ । यस जिल्लामा ८३ हजार २ सय २४ घरधुरीले घर पूर्ण क्षति भएको भन्दै दुई पटकमा २५ हजार रुपियाँ लिएका थिए । यस जिल्लामा भूकम्पबाट ३ सय २७ जनाको मृत्यु भएको थियो ।

करिव ४ सय जनसङ्ख्या रहेको यो बस्तीका घर भएकालाई समेत सरकारले ५० हजार रुपियाँ दिएको छ । विक्रम सम्बत १८८४ मा लालमोहर लागेर त्यही समयदेखि यहाँका पहरीहरूले गुठी चलाउने, रथ चलाउने, दैनिक प्रसादी लैजाने र मन्दिर परिसरको सरसफाई गर्दै आएका छन् । कार्यक्रममा एक सय ७ जनाको सहभागिता थियो ।

photo20161206kavre-19 photo20161206kavre-18 photo20161206kavre-17 photo20161206kavre-16 photo20161206kavre-15 photo20161206kavre-14 photo20161206kavre-13 photo20161206kavre-12 photo20161206kavre-11         photo20161206kavre-2 photo20161206kavre-1

भोजराज तिमल्सिना