भानुमा स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर योजना निर्माण

  ०७७ मङ्सिर २६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवालाविच अन्तरक्रिया कार्यक्रम मङ्सिर २४ गते भानु नगरपालिकामा सम्पन्न भएको छ ।

नगरपालिकाले स्वास्थ्य सम्बन्धी तयार गरेको नीति, कार्यक्रम र कार्यान्वयनको अवस्था तथा स्वास्थ्यको क्षेत्रमा सञ्चालन भइरहेको कार्यक्रमको बारेमा सरोकारवालाहरूलाई जानकारी दिने उद्देश्यले आयोजित सो कार्यक्रममा बोल्दै नगरपालिकाकी उपमेयर आशा थापाले स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार भएको हुँदा नगरपालिकाले पनि नागरिकको स्वास्थ्यको अधिकारलाई प्राथमिकतामा राखेर योजनाहरू बनाएको बताउनुभयो ।

r
सबै वडाहरूमा आधारभुत स्वास्थ्य केन्द्रको स्थापना, निःशुल्क औषधीको वितरणको व्यवस्था, ज्येष्ठ नागरिकको घर घरमै पुगी स्वास्थ्य परीक्षण, स्वास्थ्य केन्द्रहरूमा आवश्यक स्वास्थ्यकर्मीको उपलब्धता लगायत नगरपालिकाले व्यवस्थापन गरेको उपमेयर थापाको भनाइ छ ।

कतिपय अवस्थामा स्वास्थ्यकर्मीको कमजोरीको कारण जनप्रतिनिधिहरूले जनताको दबाब पनि खेप्नु परेको भन्दै उहाँले नागरिकको स्वास्थ्य प्रति संवेदनशिल भएर काम गर्न सबैमा अनुरोध गर्नुभयो ।

नागरिकहरू अझै पनि धेरै सचेत नभइसकेको भन्दै उपमेयर थापाले सरकारी स्वास्थ्य संस्थामा सेवा लिन आउनुपर्नेमा जोड दिनुभयो ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनिल पाण्डेले जनताले तिरेको करबाट सरकार र स्थानीय तहले प्रत्येक वडामा सरकारी स्वास्थ्य संस्था स्थापना गरेपनि त्यस्ता संस्थामा नागरिकको उपस्थिति निकै कम हुने गरेको बताउनुभयो ।

तनहँु जिल्लामै सुरक्षित सुत्केरी गराउने अस्पतालको रूपमा पुरनडिही अस्पताललाई लिने गरेको भन्दै पाण्डेले अन्य स्वास्थ्य संस्थाले पनि प्रभावकारी रूपमा सेवा दिइरहेको बताउनुभयो ।

केही कुराहरू अपुग भएमा त्यसलाई नगरपालिकाले बोर्ड बैठकले पारित गरेमा कर्मचारीको तर्फबाट कार्यान्वयन गर्न आफहरू प्रतिबद्ध भएको पाण्डेको भनाइ छ ।

वडा नम्बर ४ का अध्यक्ष पुर्णबहादुर लौडारी र वडा नम्बर ६ का अध्यक्ष टिकाराम हड्खलेले स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरू बनाइएको बताउनुभयो ।

सबैको सहकार्य र समन्वयबाट कामहरू भइरहेको उहाँहरूको भनाइ थियो ।

r

नगरपालिकाका न्यायिक समितिका सदस्य कृष्णराज ढकालले नागरिकको मौलिक हकको रूपमा रहेको स्वास्थ्यको हकलाई सबैभन्दा प्रभावकारी रूपमा प्रदान गर्नुपर्ने बताउनुभयो ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले नागरिकको स्वास्थ्य प्रति संवेदनशिल भएर काम गर्न सम्पूर्ण स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको बताउनुभयो ।

स्वास्थ्य संस्थामा भएको कमजोरी प्रति नगरपालिका सचेत भएको भन्दै जिम्मेवार नागरिकले कमी कमजोरीहरू सार्वजानिक स्थानमा भन्नुभन्दा पनि जिम्मेवार प्राप्त व्यक्तिलाई जानकारी गराएमा चाँडै्र समाधान हुने उहाँको भनाइ थियो ।

सम्पूर्ण वडाहरूमा स्वास्थ्य चौकीको स्थापना गरिएको भन्दै अब तीनै वडाहरूबाट जनतालाई घर दैलोमै सेवा दिने भट्टराईले बताउनुभयो ।

स्वास्थ्य शाखा प्रमुख भट्टराईका अनुसार हालसम्म १ हजार १ सय ५ जनाको पीसीआर परीक्षण गरिएकोमा १ सय २३ जना सङ्क्रमित भएको र त्यसमध्ये हाल ५ जना मात्रै सक्रिय सङ्क्रमितको रूपमा होम आइसोलेशनमा रहेका छन् ।

सो कार्यक्रममा जनस्वास्थ्य अधिकृत जेनी राना मगरले पनि स्वास्थ्य शाखाबाट सञ्चालित कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो ।

मानवअधिकार समूहका संयोजक कृष्णराज धमनीयाको अध्यक्षतामा भएको सो कार्यक्रममा भानु महिला विकास बहुउद्देश्यि सहकारी संस्थाकी अध्यक्ष रूपा लामा, मानव अधिकार समूहकी सदस्य खिमसरा गुरुङ, लगायतले स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।

प्रकाशचन्द्र भट्टराई