बुङ्कोटमा सार्वजनिक सुनुवाइ सम्पन्न

  ०७६ असार ४ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तथा मानव अधिकार सञ्जाल, गोरखाको आयोजनामा असार ३ गते शहीद लखन गाउँपालिका-८ बुङ्कोटस्थित भुकम्पपीडित बस्तीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा छाउपाथोकस्थित कोलडाँडाका ८० वर्षीय इमबहादुर श्रेष्ठले आर्थिक अभावका कारण घर निर्माणलाई पुर्णता दिन नसकेको गुनासो सरोकारवाला समक्ष राखेका थिए ।

Photo20190619Gorkha (1)

अनुदान सम्झौता गरेर पहिलो किस्ताको ५० हजार रुपियाँ र डिपिसी सकेर दोस्रो किस्ताको १ लाख ५० हजार रुपियाँ बुझेको भएपनि गारो लगाउने छाना छाउने काममा आर्थिक अभाव हुँदा काम रोकिएको श्रेष्ठले बताए ।

प्राधिकरणका अनुसार छाना छाएपछि मात्र अन्तिम किस्ताको एक लाख पाउने प्रावधान छ । ०७३ माघमा दुई कोठे घर निर्माण सुरू गरेका श्रेष्ठको घर अहिलेसम्म अलपत्र पर्दा परिवारका चारजना सदस्य टहरामै बसिरहेको श्रेष्ठले बताए ।

Photo20190619Gorkha (3)

घर सम्पन्न गर्न अझै ४ लाख रुपियाँ लागेपनि परिवारमा काम गर्ने सदस्य नहुँदा र ऋण समेत नपाउँदा सरकारले दिने तेस्रो चरणको किस्ता पाउने नपाउनेमा अन्यौल भएको बताए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा श्रेष्ठले घर निर्माण गर्न नसकेको समस्या राखेपछि कार्यक्रमका लागि पुगेका इन्सेककर्मी, वडा नम्बर ८ का वडा अध्यक्ष काशिनाथ अङ्गाई, पत्रकार लगायतको टोलीले उनको अवस्थाका बारेमा स्थलगत जानकारी लिएको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै वडाअध्यक्ष अङ्गाईले गाउँपालिका भरिका सबै वडामा घर बनाउन नसक्ने भूकम्प पीडितका लागी १-१ लाख रुपियाँको घुम्ती कोष रहेको जानकारी दिए ।

Photo20190619Gorkha (2)

वडाअध्यक्ष अङ्गाईले श्रेष्ठको घर सम्पन्न गर्न घुम्तीकोषको रकमसँगै सहयोगीदाताहरूसमेत खोजी गर्न आवश्यक देखिएको भनाई राखे ।

८ सय ९ परिवार लाभाग्राही सूचीमा रहेको वडा नम्बर ८ मा ७ सय ५ लाभाग्राहीले दोस्रो किस्ता र ६ सय ३७ परिवारले घर निर्माण सकेर तेस्रो किस्ता बुझेको भुकम्प पुर्ननिर्माण प्राधिकरण गोरखाका प्राविधिक महेश थापाले बताए ।

१ हजार ९१ परिवार लाभाग्राही सूचीमा रहेको वडा नम्बर ७ मा ९ सय २३ ले दोस्रो किस्ता र ७ सय ९५ ले घर निर्माण सकेर तेस्रो किस्ता बुझेको प्राविधिक थापाले बताए ।

वडा नम्बर ८ मा ४० र ७ मा ६० जना लाभाग्राहीको तेस्रो किस्ता पाउने प्रक्रिया सुरू भइसकेको थापाले बताए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी अधिकांशले सरकारी अनुदान ३ लाख रुपियाँले घर निर्माण सम्पन्नै गर्न नसकेको गुनासो गरेका थिए ।

'३ लाखले एक कोठे घर बनाउन चाँहि पुग्ने रहेछ ।'-शुक्रराज श्रेष्ठले भने-'सोचेजस्तो घर बनाउन सरकारी अनुदानले पुगेन ।'

१० लाख खर्चेर दुई कोठे निर्माण गरिएपनि सो रकम अझै अपर्याप्त रहेको स्थानीय पम्फा लम्सालले गुनासो गरिन् ।

'दुई कोठे घर बनाउन १० लाख लाग्यो । त्यति खर्च गरेर बनाएको घरमा चार जनाको परिवारलाई सुत्न बस्न पुगेको छ । पाहुना आए समस्या छ । अन्नपात राख्न पनि नमिल्ने रहेछ ।'-उनले भनिन् ।

वडा नम्बर ८ मा १ सय २३ र वडा नम्बर ७ मा १ सय २६ जनाले आफू भूकम्प पीडित भएर पनि लाभाग्राही सूचीमा समावेश नभएको भन्दै वडा कार्यालयमा गुनासो दर्ता गरेका छन् ।

गुनासो दर्ता गर्ने लाभाग्राहीको घर सर्वेक्षणको काम सुरू भएको वडा नम्बर ७ का वडा अध्यक्ष शरण श्रेष्ठले बताए ।

प्रवलीकरण सूचीमा परेका ७ का २१ र ८ का १५ जनाले पनि पुर्ण क्षतिको अनुदान पाउनुपर्ने माग गर्दै पुनरावेदन गरेको जिल्ला स्थित भुकम्प पुनर्निर्माण प्राधिकरणको कार्यालयले जनाएको छ ।

कार्यक्रममा भूकम्प पुनर्निर्माण प्राधिकरणका प्रतिनिधि, जनप्रतिनिधि, स्थानीयबासी तथा सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

हरिराम उप्रेती