बाल अधिकार चेतना समूहका पदाधिकारीको क्षमता अभिबृद्धि तालिम सुरू

  ०७४ पुस २४ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) काठमाडौँको आयोजनामा बाल अधिकार चेतना समूहका पदाधिकारीहरूका लागि तिनदिने क्षमता अभिवृद्धि तालिम पुस २४ गतेबाट धुलिखेलमा सुरू भएको छ ।

Photo20180108Kabhre1

धुलिखेलमा आयोजित तालिमको उद्घाटन गर्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बालबालिकाहरूका लागि बालबालिकाहरूले नै सिर्जनात्मक ढङ्गले योजना निमार्ण गर्नुपर्नेमा जोड दिए ।

उनले इन्सेकद्वारा दोलखा, सिन्धुपाल्चोक र धादिङका सामुदायिक विद्यालयहरूमा गठित बाल अधिकार चेतना समूहका पदाधिकारीहरूलाई बाल अधिकारका विषयमा धेरैभन्दा धेरै जानकारी लिन आग्रह गरे ।

Photo20180108Kabhre3

निर्देशक गौतमले इन्सेकको स्थापनाकालदेखि नै बाल अधिकारको सवाल अभिन्न अङ्गका रूपमा रहेकाले इन्सेकका काम बालमैत्री र सहयोगी हुने उल्लेख गरे ।

परिवर्तनका लागि अधिकारका सवाललाई अभियानका रूपमा अघि बढाउन र सञ्चालित क्रियाकलापले बालबालिकाहरूलाई फाइदा र उत्साह थपिने खालको हुनुपर्नेमा गौतमले जोड दिए ।

इन्सेकका क्षेत्रीय संयोजक कृष्ण गौतमले इन्सेकले आफ्नो स्रोत र क्षमता अनुसार बाल अधिकार चेतना समूहलाई सहयोग गर्ने उल्लेख गर्दै क्षमता विकासका लागि बालबालिकाहरूले धेरै भन्दा धेरै कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।

तालिममा बाल अधिकार, बाल अधिकारको ऐतिहासिक विकासक्रम, बाल अधिकारसम्बन्धी राष्ट्रिय, अन्तर्राष्ट्रिय कानुन, जोखिमपूर्ण श्रम र बाल दुर्व्यवहार, बाल अधिकार चेतना समूहका काम कर्तव्य र अधिकार, बालमैत्री विद्यालय र दण्डरहित शिक्षाका विषय समेटिने छ ।

तालिममा इन्सेक क्षेत्रीय कार्यालय काठमाडौँका संयोजक कृष्ण गौतम, क्षेत्रीय कार्यालयका फोकल पर्सन गणेश भण्डारी र प्रलेख अधिकृत राजु पासवान, इन्सेक केन्द्रीय कार्यालयकी सुभेच्छा खड्का, जिल्ला शिक्षा कार्यालय, प्रहरी महिला तथा बालवालिका सेवा केन्द्र र महिला तथा बालबालिका सेवा केन्द्रका प्रतिनिधिहरूले सहजीकरण गर्नेछन् ।

तालिमको उद्घाटनका क्रममा धादिङबाट सहभागी अप्सरा लुइटेलले इन्सेकको कार्यक्रमकै कारण आफू सार्वजनिक कार्यक्रममा बोल्न सक्ने भएको उल्लेख गर्दै इन्सेकका यस्ता कार्यक्रमको समय अझै थप्नमा जोड दिइन् ।

इन्सेकले धादिङको गल्छी गाउँपालिका, दोलखाको भीमेश्वर नपा, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका र लिशङ्खुपाखर गाउँपालिकाका ४/४ ओटा सामुदायिक विद्यालयमा कार्यक्रम सञ्चालन गरेको छ । तालिममा बाल समूहका पदाधिकारी, संरक्षक शिक्षक र इन्सेक प्रतिनिधिहरू गरी ४० जनाको सहभागिता छ ।

भोजराज तिमल्सिना