बालबालिकाको सुरक्षा र अधिकारका लागि सोच्न आवश्यकः सरोकारवाला

   ०७६ पुस १५ गते 

जिल्लामा सबैभन्दा बढी बालबालिका असुरक्षित रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) उदयपुरले सार्वजनिक गरेको तथ्याङ्कमा देखिएको छ ।

इन्सेकले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि पुस १५ गते आयोजना गरिएको वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङ्कले बालबालिका बढी असुरक्षित देखाएको हो । बालबालिकाको सुरक्षा सम्वेदनशील भएकाले बालअधिकार रक्षाका लागि सोच्न आवश्यक भएको सरोकारवालाहरूले बताएका छन् ।

इन्सेक अभिलेखका आधारमा ०७५ पुस १७ देखि ०७६ पुस १५ गतेसम्म एक वर्षमा १ सय ३ ओटा मानव अधिकारसँग सम्वन्धित घटना भएको पाईएको छ । त्यसमध्ये ५३ ओटा घटना बलात्कारसँग सम्बन्धित रहेको छ । बलात्कार भित्रपनि सबै भन्दा बढी बालबालिकासँग सम्बन्धित ३० ओटा घटना भएको तथ्याङ्कले देखाएको छ । जसमा गैरन्यायिक हत्या ११ ओटा, बालिका बलात्कारका घटना ३० ओटा, महिला बलात्कार तथा प्रयासका २३ ओटा, घरेलु हिंसाका १३ ओटा, बहुविवाह १७ ओटा, नाताकायम १ ओटा, बालविवाहका ३ ओटा, बालबालिका कुटपिटका १ ओटा, मानव ओसारपसारका १ ओटा र विप्लव समुहको नाममा भएको बम विस्फोट गरी १ सय ३ ओटा घटना रहेका छन् ।

यसमध्ये बालबालिका बलात्कारका १३ ओटा मुद्दा फैसला भएकोमा दुई जनाले सफाई पाए, महिला बलात्कार घटनाका १२ ओटा फैसलामध्ये सात जनाले सफाई पाएका छन् । घरेलु हिंसाका १३ ओटा मध्ये तीन वटा मिलापत्र भए, बहुविवाहका ९ ओटा मुद्दा फैसला भएकोमा तीन मुद्दामा सफाई पाए, बालिका कुटपिट र नाताकायम दुई मुद्दा मिलापत्र गरिएको तथ्याङ्कले देखाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश, १ सांसद अम्बिका थापाले अबको मानवअधिकारको मुद्दा सुशासन, पारदर्शिता, जवाफदेहिता हुनुपर्ने बताउनुभयो । उहाँले इन्सेकका दस्तावेजका कारण विगतमा भएका जघन्य अपराधका घटनाका दोषीलाई कारबाही गर्न सहज भएको बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले अपराध घटनाका पीडित पक्षलाई क्षतिपूर्ति पाउनु पर्ने सवाल अबको मानव अधिकारको मुद्दा बनाउनु पर्ने सुझाब दिनुभयो । उहाँले मानव अधिकार उल्लङ्घनका दोषी विश्वको कुनै पनि देशमा लुकेर बस्न नसक्ने बताउँदै मानव अधिकारसँग जोडिएका घटनालाई सम्वेदनशील रूपमा बुझ्न आग्रह गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालयका एसपी बीरबहादुर बुढामगरले मानव अधिकार संरक्षण र सम्र्बद्धन गर्न प्रहरी सङ्गठन कटिबद्ध रहेको बताउनुभयो । उहाँले सामाजिक विखण्डनका घटनालाई मानव अधिकारको बिषय वस्तु बनाउनु पर्ने सुझाब दिनुभयो । उहाँले बलात्कार जस्ता जघन्य अपराधलाई सकेसम्म गाउँघरमा नै मिलाउने प्रयास गर्नु कानूनी कारबाहीका लागि मुख्य चुनौती भएको बताउनुभयो ।

जिल्ला अदालतका श्रेस्तेदार राजकुमार आचार्यले नागरिकलाई सचेत र जिम्मेवार बनाउन सके त्यति नै मानव अधिकार उल्लङघनका घटना बाहिर आउने र न्यूनीकरणमा समेत सहज हुने बताउनुभयो । अदालतले मुद्दा किनारा लगाउँदा प्रमाणलाई मुख्य आधार बनाउने भएकाले मानव अधिकारसँग जोडिएका घटनालाई प्रमाणमा सहयोग पु¥याईदिन आग्रह गर्नुभयो । नेपाल पत्रकार महासङ्घ प्रदेश १ का सचिव हरिकुमार राईले मानव अधिकार उल्लङ्घन हुनुमा शक्तिको दुरूपयोगले पनि साथ दिएको बताउनुभयो । उहाँले मानव अधिकारसँग सम्बन्धित घटना बढ्नु भनेको लोकतन्त्र, गणतन्त्र नै कमजोर बन्नु भएकाले सतहीबाट मात्र नभई गहिराईमा पुगेर विश्लेषण गर्नुपर्ने बेला आएको बताउनुभयो ।

गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य महेश्वरी राईले सामाजिक विभेद, चेतना, पुरातन सोच, अन्धविश्वास कायम रहँदा र राजनीतिक स्थायित्व नहुँदा मानव अधिकार उल्लङ्घनका घटनाले प्रशय पाएको बताउनुभयो । उहाँले इन्सेकले तयार पार्ने वर्ष पुस्तक विश्वकै उत्कृष्ट दस्तावेज भएकाले इन्सेकका अबको मुद्दा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार हुनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागीहरूले मानव अधिकारको क्षेत्रमा इन्सेकको वर्ष पुस्तक आधिकारिक दस्ताबेज भएको बताएका थिए ।

photo20191230Udayapur (1) photo20191230Udayapur (2) photo20191230Udayapur (8)

 

     भरत खड्का