बलात्कारका घटना बढेकोमा सरोकारवालाद्वारा चिन्ता व्यक्त

  ०७३ मङ्सिर २९ गते 

जिल्लामा बलात्कारका घटना बढेकोमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । इन्सेकद्वारा खलङ्गामा मङ्सिर २९ गते आयोजित नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रममा सहभागी सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका हुन् ।

photo20161214salyan

पूर्व समीक्षा कार्यक्रममा बोल्दै सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोर्‍याव)का केन्द्रीय सदस्य रमेशकुमार गौतमले पछिल्लोपटक जिल्लामा बलात्कारका घटना बढेको र इन्सेकको अभिलेखमा पनि त्यो देखिएको भन्दै चिन्ता व्यक्त गरे । उनले जिल्लामा क्रियाशील मानव अधिकारकर्मी सङ्घ संस्थाले मिलेर यसबारेमा विशेष अभियान चलाउनुपर्नेमा जोड दिए । 'हामीले न्यायिक तथा अर्धन्यायिक निकायसम्म आइनपुग्ने घटनाहरूको बारेमा पनि सोच्नुपर्छ ।'-उनले भने । पारिवारिक दबाव, अभाव तथा चेतनाको कमीका कारण धेरै घटना बाहिर आउन नसकेको गौतमले बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सल्यानका सई प्रकाश खड्काले घटना अभिलेखिकरणले पीडितलाई न्यायको अनुभूति दिलाउन महत्वपूर्ण सहयोग पुग्ने भन्दै पीडितको सुरक्षाको लागि गोपनियतालाई पनि विशेष ध्यान दिनुपर्ने बताए ।

ओरेक नेपालका संयोजक अशोक चौधरीले घरेलु हिंसाका घटनाहरू दिनप्रतिदिन बढेको भएपनि त्यसलाई अभिलेख गर्न नसकिएको बताए । घरेलु हिंसाका घटनालाई अभिलेख गर्न सकेमा मानव अधिकार संरक्षणको अभियानमा बल पुग्ने उनले बताए ।

इन्सेक सल्यान जिल्ला प्रतनिधि मीनाकुमारी बुढाथोकीले इन्सेकले नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि जिल्लामा सङ्कलन गरिएका घटनाका बारेमा जानकारी गराएकी थिइन् ।

बुढाथोकीका अनुसार बलात्कार/बलात्कार प्रयासका आठ ओटा, बहुविवाहसम्बन्धी एउटा, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी तीन ओटा, बालअधिकारका तीन ओटा, घरेलु हिंसाका ४२ ओटालगायत ५९ ओटा घटना यो वर्ष इन्सेकमा अभिलेख गरिएको छ ।

इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय, नेपालगञ्ज